नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् ।
नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरेका हुन् । "अर्थतन्त्रका धेरै सुचकहरु विस्तारै विस्तारै सकारात्मक हुँदै आएका छन् । हामी व्यवसायीहरु जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्यताले हामी आफैलाई हानी गर्छ," उनले भने ।
छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा विस्तारै सहज स्थिति आउने बताए ।
आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको व्याजसम्बन्धि कुराहरु उठ्ने गरेको बताउँदै उनले कुनै एक वैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र व्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए ।
ब्याजदरबारे आन्दोलनका कार्यक्रमहरु भइरहेकाे र महासङ्घको केन्द्रीय नेतृत्वले कुनै प्रयास नगरेको भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरुका धेरै गुनासाहरु सम्बोधन गरेको स्पष्ट पारे ।
अबको केही समयपछि महासङ्घको नेतृत्व सम्हाल्न गइरहेका उनले महासंघले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गर्ने पनि बताए ।































प्रतिक्रिया