फेब्रुअरीमा नेपाल भित्रिए ७३ हजार पर्यटक

फेब्रुअरीमा नेपाल भित्रिए ७३ हजार पर्यटक

केन्द्रबिन्दु
0
Shares

अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । 

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

Skip This
Skip This
Logo