निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । 
 
नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने- “हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेको छैनौ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।”

उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए । 

हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न वरिष्ठ उपाध्यक्ष ढकालले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिएका छन् । बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे । 
 
उनले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे । “उपस्थित राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो । बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौ भने त्यसको नतिजा के होला,” उनले प्रश्न गरे । 

वरिष्ठ उपाध्यक्ष ढकालले भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे । 

कोरोना भाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उनले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए । 

त्यस्तै, वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको बताए । “तर अहिले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको छ । वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उनले भने । 

नवलपुरको धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयसम्म काम अघि बढ्न नसकेको बताउँदै उनले यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह समेत गरे । 

आगामी चैत्रमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको प्रसंगमा कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । 

आगामी चैत्रपछि महासंघको नेतृत्व लिदै गरेको प्रसंग उठाउँदै उनले गण्डकी प्रदेशको नयाँ नेतृत्वसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

Logo