नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन । बैंकलाई पनि असजिलो छ । व्यवसायीहरुलाई झन धेरै असजिलो छ । सरकारको पनि राजश्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ।”
उनले महासंघ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले महासंघको आगामि नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्ने धारणा व्यक्त गरे । सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने उनले बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले सरकार तथा राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो समेत गरे । “अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था छैन । नयाँ संविधान आइसकेपछि हामीलाई लागेको थियो, अब सायद राजनैतिक एजेण्डा सकिए । आर्थिक एजेण्डाले प्राथमिकता पाउनेछन् । तर, राजनैतिक दलको व्यवहारमा आर्थिक एजेण्डा प्राथमिकतामा नपरेको महशुस हुन्छ,” उनले भने ।
बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै उनले बैंक विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको बताए । उनले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया