काठमाडौं ।
वर्षैभरि किचलो चलिरहने चियाको निकासीमा भारी गिरावट आएको पाइएको छ । कहिले भारतले नाका बन्द गर्ने त कहिले आन्दोलन चर्केर चिया प्रशोधनमै समस्या भई चियाको निकासी कम हुँदा यसबाट हुने आम्दानीसमेत घटेको पाइएको छ । चियाबाट आर्थिक वर्ष २०७५/७६ मा भन्दा २०७६/७७ मा रु एक अर्ब आम्दानी कम भएको छ ।
चिया निकासीको परिमाण बाहिरिने नाका मेची भन्सार काँकडभिट्टाका अनुसार आव २०७५/७६ मा रु दुई अर्ब ९४ करोड २८ लाख ६० हजार ५३५ बराबरको चिया नाकाबाट निर्यात भएकामा गत आव २०७६/७७ मा रु एक अर्ब ९४ करोड ७० लाख ५३ हजार एक सय ६० मात्रको निकासी भएको देखिन्छ ।
यस वर्ष कोरोना महामारीका साथै किसान आन्दोलनका कारण चियाको निर्यात सुस्ताएको चिया उद्योगीहरू बताउँछन् । “केही महिना अघिसम्म कोरोनाका कारण पनि चिया गएको थिएन भने निर्यात पनि विराटनगर भन्सारबाट हुँदा कम भएको देखिएको हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले भने। उनका अनुसार बन्दाबन्दीका समयमा मात्रै पनि करोडौंको चिया निर्यात हुन नसकेको हो ।
अहिले पनि उद्योगले उत्पादन गरेको चिया बाहिर पठाउन सकिएको छैन भने किसान आन्दोलनले पनि ठूलो परिमाणमा चिया जान नसकेको महासचिव राईको भनाइ छ । मेची भन्सारमा ठूलो आम्दानी भित्रिने मध्ये चिया दोस्रो स्थानमा पर्ने गरेकामा गएको वर्ष तेस्रो स्थानमा झरेको छ । गएको वर्ष चियालाई अलैँचीले उछिनेको छ ।
नेपालमा उत्पादन हुने चियाको झण्डै ९० प्रतिशत हिस्सा बाहिर जाने गरेको छ तर पछिल्लो समय चियामा आन्तरिक किचलो परेकै कारण निर्यात घटेको व्यवसायीहरूको भनाइ छ । गएको आर्थिक वर्षको अन्तिममा किसान आन्दोलनको परिणामले पनि आम्दानीमा ह्रास आएको चिया बिक्रेता उदय चापागाईंको भनाइ छ । चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो ।रासस





























प्रतिक्रिया