नेपालमा उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

नेपालमा उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गति अनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, जाजरकोटतिर फाट्टाफुट्ट देखिएको छ । भएका सलह उत्तर लाग्दै छ । चिसो लेकतर्फ गएकाले अहिले नोक्सान गर्ने हिसाबका छैनन् । “मुस्ताङमा पुगेको सलह रुखमा पनि राम्ररी बस्न नसक्ने अवस्थामा पुगेको छ, फेदमा बल्लबल्ल बसिरहेको छ, कमजोर हुँदै गएको छ, चिसोले राम्ररी खान सकेको छैन, भएका पनि लेकतर्फ गइरहेको छ”, सुवेदीले भने, “जति लेक जान्छ त्यति मर्दै र कमजोर बन्दै जाने हो ।”

उनका अनुसार उत्तरबाट हावा लागेको भए पुनः फर्किन सक्थ्यो । अहिले हावा पूर्वबाट पश्चिम उत्तरतिर गइरहेको छ । त्यसैले फर्किने सम्भावना कम छ । “भएका पनि उत्तरतिर लागेकाले अहिले अनुमानित दुई/तीन लाख अझै बाँचेका होलान्”, सुवेदीले भने । भारतबाट थप अब आउन सक्ने सम्भावना भने कायमै रहेको उनले बताए।

नेपालमा असार १३ गते रौतहटबाट सलह प्रवेश गरेको थियो । असार १६ गतेसम्म विभिन्न जिल्लामा प्रवेश गरेर केही क्षति पु¥याएको थियो । असार २८ मा दाङ लगायत केही जिल्लाबाट नेपाल आएको थियो । साउन १ गते नेपालगञ्ज र महेन्द्रनगरबाट छिरेको थियो । त्यसपछि नयाँ झुण्ड आएको छैन । सीमा क्षेत्रमा पनि अहिले कम मात्रै सलह रहेको केन्द्रले जनाएको छ । अहिले भारतको राजस्थानमा ठूला आठ÷दश झुण्ड रहेको किटविज्ञले बताएका छन् ।

ती झुण्ड अण्डा बनाउने र बच्चा कोरल्ने क्रममा छ । हावाको गति अनुकूल भए त्यहाँबाट झुण्ड आउन सक्ने सम्भावना भएपनि तत्कालै भने नआउने बताइएको छ । मुलुकमा ५४ जिल्लामा सलह पुगेको थियो । करिब करिब २७ जिल्लामा सक्रिय देखिएको थियो । अहिले पनि केही विखण्डित झुण्ड पाँच/छ जिल्लामा देखिँदै आएको केन्द्रले जनाएको छ ।

नेपालमा प्रवेश गरेको झुण्डले केही जिल्लामा बालीनालीमा क्षति पुर्याएको भए पनि उत्पादन मै नोक्सानी गर्ने गरी भने क्षति नपुर्याएको किटविज्ञ समुन्द्रलाल जोशीले बताए। मुख्यगरी किसानहरुले विभिन्न अवरोध सिर्जना गरेर हटाउने गरेकाले पनि धेरै क्षति हुन पाएको छैन । सलह नियन्त्रणमा किसान आफैँ सक्रिय छन् । प्राकृतिक रुपमा नै सलहलाई धपाउने वा नष्ट गर्ने प्रक्रिया अपनाइएको केन्द्रका महानिर्देशक सहदेवप्रसाद हुमागाईंले जानकारी दिए।रासस

Logo