काठमाडौं ।
०५५ सालमा नक्शा पास गरी गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा आज बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको छ । पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । उनले जनप्रतिनिधिले परीक्षा दिइरहेको भन्दै परीक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताए । ‘जनप्रतिनिधिले परीक्षा दिइरहेका छन् । तपाईंहरु (महानगरवासी) ले १ सयमा ८०, ९०, ६०, २०, ३० जति दिने हो दिनुहोस्, त्यो तपाईंहरुको जिम्मामा छ,’ उनले भने, ‘हामी सकेसम्म महानगरवासीका सपना पूरा गर्ने गरी लागेका छौँ ।’

महानगर वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को सँगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए।
पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाई छ । बाँकी दोश्रो चरणको काम सम्पन्न गर्न महानगरले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले जानकारी दिए ।
दोस्रो चरणको योजनामा किरिया पुत्री भवन र पार्क निर्माण गरिने महानगरको भनाइ छ । ‘पहिलो चरणको काम ०७७ मंसिर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ केसीले भने, ‘दोस्रो चरणको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । ‘डोल परेको र भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतिपूर्ण छ ।’ डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले भने, ‘पहिलो पटक म त्यहाँ पुग्ने वित्तिकै चराहरुको चिरविरचिर आवाज, वातावरण र पर्यावरणले मन आनन्दित भयो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इको पार्क राखेका हौँ ।’
पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको उनले जानकारी दिए ।
चुनदेवी सहयोगी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले २२ वर्षको अथक प्रयासपछि सपना पूरा हुने चरणमा रहेको भन्दै खुशी व्यक्त गरेका छन् । ‘हामीले ०५५ सालमा नक्शा पास र गुरुयोजना तयार पारेका थियौँ,’ उनले खुशी हुँदै भने, ‘त्यो सपना पूरा हुन २२ वर्ष लाग्यो । यो पार्क निर्माणपछि यहाँका १ सय ११ परिवार र छिमेकी नगरपालिका सहित २० हजार मानिसले यहाँ पार्कको आनन्द लिनसक्ने छन् ।’ आचार्यले परापूर्व कालदेखि आफ्ना पुर्खाले यही ठाउँमा ढिकुरो उठाउँदै आएको स्मरण गराए ।
यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगास्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ । पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ ।





























प्रतिक्रिया