वर्ष २०७९ मा २३ लाखदेखि ९० लाखसम्मका इलेक्ट्रिक कार नेपालमा

वर्ष २०७९ मा २३ लाखदेखि ९० लाखसम्मका इलेक्ट्रिक कार नेपालमा

केन्द्रबिन्दु
0
Shares

२०७९ सालमा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिएका छन्। बजारमा इलेक्ट्रिक कारको माग बढेसँगै व्यवसायीहरुले नयाँ व्रान्डका कार ल्याउने क्रमलाई तीव्र वनाएका हुन् । 

याे वर्ष हेनरी, नेटा, वुलिङ र रेसीन्स गरी कुल चारवटा नयाँ व्रान्ड नेपाल भित्रिएका छन् । यसैगरी हाउजी व्रान्ड नेपाल आएपनि यसको पर्फमेन्स राम्रो नभएको भन्दै सिजी मोटर्सले यसको बिक्री नगर्ने निर्णय गर्यो । यो वर्ष नेपाल आएको नयाँ कारमा सवैभन्दा सस्तो कार हेनरी रहेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर वल्र्डवाईड प्रालिले ल्याएको यो कारको मूल्य २३ लाख ५० हजार तोकिएको छ ।

नेपाल आएका यी चार नयाँ व्रान्ड मध्ये सवैभन्दा वढी चर्चा नेटा भीले वटुल्न सफल भएको छ । औपचारीक लन्च हुनु अगाडि नै मूल्य महंगो भनेर चर्चामा आएको यो कारलाई सीजी मोटर्सले ३८ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ । 

यसैगरी अर्को मिनी कार रेसीन्सलाई जीमीनी इन्कर्पोरेटले पहिलो पटक नेपाल ल्याएको हो । यो कारलाई अहिले कम्पनीले २५ लाख रुपैयाँमा बिक्री गरिरहेको छ । इभी नेपाल मोटर्सले ल्याएको अर्को मिनी कार वुलिङको मूल्य २५ र ३० लाख रुपैयाँ निर्धारण गरिएको छ । तर, उक्त कारले गति लिन सकेको छैन । 

इभी बजारमा सवैभन्दा लोकप्रिय वनेको एमजी जेडएस इभीलाई पारामाउन्ट मोटर्सले यसै वर्षको अन्त्यदेखी पुनः वुकिङ खुल्ला गरेको छ । शुरुमा कम्पनीले जेडएस इभीको लङ रेन्जको वुकिङ खुल्ला गरेको थियो भने लगत्तै यसको ९९ किलोवाट क्षमताको मोटर जडित मोडलको पनि वुकिङ खुल्ला ग-याे । पारामाउन्टले अहिले जेडएस इभीको लङ रेन्जलाई ८२ लाख र ९९ किलोवाटलाई ४८ लाख ५० हजारमा बिक्री गर्ने भन्दै वुकिङ लिइरहेको छ ।

वीवाइडीले आफ्नो वहुप्रतिक्षित एट्टो३ लाई यसै वर्ष नेपाल ल्याएको छ । शुरुमा १५० किलोवाटको एट्टो३ ल्याएर बिक्री थालेको आधिकारिक वितरक साइमेक्स इंकले पछि यसको मोटर क्षमता घटाएर १०० किलोवाटमा ल्याएको हो । कम्पनीले १५० किलोवाट एट्टो३ को मूल्य ८९ लाख ९० हजार तोकेर बिक्री गरेको केही समयपछि १०० किलोवाट एट्टो३ लाई ६४ लाख ९० हजारमा बिक्री गर्ने भन्दै वुकिङ लिन थालेको हो ।

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकिन्टनेन्टलले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको नयाँ भेरिएन्ट एनएसलाई यसै वर्ष नेपाल ल्याउन सफल भएको छ । त्यसअघि जीएल र जीएलएस भेरिएन्टको बिक्री गर्दै आएको कम्पनीले नयाँ भेरिएन्टलाई ५९ लाख ९६ हजारमा नेपाल ल्याएको हो  ।

Logo