काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको बेलामा उपत्यका तथा अन्य स्थानहरुमा सस्तिएको तरकारीको मूल्य पछिल्लो दुई हप्ता देखि दोब्बरले बृद्धी हुन थालेको छ ।
केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको बजारमा तरकारीको मूल्य एक्कासी बढेको हो । पछिल्लो दुई हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
उनका अनुसार पछिल्लो दुई हप्ताको समयमा उपत्यकाका बाहिरी जिल्लामा बाढी पहिरोको प्रकोप बढेकाले उपत्यकामा तरकारीको आयात नै कम हुँदा मूल्य बढेको हो । लकडाउनको अवधिमा हरियो तरकारी बाहेक स्वदेशी उत्पादनले ८० प्रतिशत बजार धानेको थियो तर पनि त्यही बेलादेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन । उनले भने, ‘यो साता मुलुकभर आएको बाढी पहिरोका कारणले तरकारीको आयात कम हुँदा मूल्य बढ्न गएको हो ।’
यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारण बजारमा आउन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । उनले भने जस्तो उपत्यकाका बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको छ । बजारमा होलसेल मूल्यको तुलनामा खुद्रा मूल्य दोब्बर कायम रहेको छ । व्यापारीहरु बजारमा तरकारी अभाव भएकाले होलसेलमा नै महंगो भएर आएकाले खुद्रा मूल्य पनि बढेर आएको ललितपुर इमाडोलका व्यवसायीले बताए ।
उनका अनुसार बाढीपहिरोका कारण बजारमा तरकारी आयात हुन नसक्दा मूल्य बढेको हो उनले भने, ‘राति २ बजे नै होलसेलमा पुग्दा पनि तरकारी नपाउने अवस्था रहेको छ ।’ यसरी बजारमा तरकारीको मूल्य दोब्बरले बृद्धी हुँदा उपभोक्ताको भान्सा महंगो हुन थालेको छ । तरकारीको मूल्य अस्वाभाविक बढ्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्ता मारमा परेका छन् । यता स्थानिय तह तथा सरकारका बजार नियमन तथा अनुगमन गर्ने निकाय भने मौन बसेको देखिन्छ ।
कालीमाटी बजारमा सामान्य अवस्थामा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेकोमा लकडाउन भएदेखि कम मात्रामा तरकारी भित्रिने गरेको छ । लकडाउन केही खुकुलो तथा हटे पनि अहिले दैनिक रुपमा कालीमाटी बजारमा दुई सय देखि ३ सय टन तरकारी मात्रै भित्रिने गरेको समितीले जनाएको छ ।
कालीमाटी बजारमा अहिले धादिङ, काभ्रे, मकवानपुर, चितवन, भक्तपुर लगायतका अन्य ठाउँबाट तरकारी आउने गरेको छ । तर बजारमा केही व्यवसायीले तरकारीमा कृत्रिम अभाव देखाएर मनपरी मूल्य लिई ठगिरहेको उपभोक्ताहरुको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताएका छन् । बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्य लिने गरेको उनको भनाइ छ ।
अहिले कालीमाटी बजारमा तरकारीको होलसेल र खुद्रा मूल्य भिन्डी ६० रुपैयाँ र खुद्रा १०० रुपैयाँ रहेको छ । तर बाहिरी बजारमा १ सय ४० रुपैयाँसम्म पर्ने गरेको छ । त्यस्तै, कालीमाटी बजारमा बन्दाको मूल्य ३८ रुपैयाँ रहेको छ भने होलसेल मूल्य ५० रहेको छ । स्थानीय काउली ९५ र १५०, भन्टा लाम्चो ८० र १२०, घ्यू–सिमी ८० र १५०, परवर ९० र १५०, घिरौंला ५० र ९०, आलु रातो ५५ र ७०, बोडी ६० र ११०,गोलभेंडा २० र ४० रहेको छ । तर यो कालीमाटीमा भएको मूल्य भन्दा दोब्बर मूल्यमा विभिन्न स्थानमा विक्रि भइरहेको छ ।





























प्रतिक्रिया