काठमाडौं ।
एक वर्षदेखि निरन्तर रुपमा नेपाली बजारमा सुनको मूल्य बढ्दै गएको छ । नेपालमा सामान्यतया विवाहको लगन र चाडपर्वमा बढ्ने सुनको मूल्य विगत एक वर्षदेखि लगातार रुपमा विवाहका लगन तथा कुनै चार्डपर्व विना नै उतार चढाव आइरहेको छ ।
करिव एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उतारचढाव आइरहेकाले नेपालमा यसको असर पर्दै गएको हो । गत वर्ष साउन र भदौ महिनामा अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेसँगै सूनको मूल्य पनि वृद्धि हुन थालेको थियो । त्यो सँगै चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिकाबीच पछिल्लो समय भएको विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको थियो ।
यसरी नेपालमा अन्तर्राष्ट्रिय घटनाले सुनको मूल्यमा पारेको प्रभावका कारण मूल्य बृद्धी भइरहेको अवस्थामा पछिल्लो चार महिनादेखि कोरोना भाइरसको प्रभावले व्यापार व्यवसाय नै ठप्प हुन पुगेको थियो । यसबीचमा पनि कोरोना प्रभावले सुनमा लगानी सुरक्षित देखेर लगानीकर्ताको आकर्षण बढ्दा सुनको मूल्य उच्च हुन पुगेको थियो ।
यसरी विभिन्न अन्तर्राष्ट्रिय घटनाक्रमले बृद्धी हुँदै गएको सुनको मूल्य २०७६ साउन १ गतेदेखि ०७७ साउन ८ गतेसम्म एक वर्षमा प्रतितोला ३० हजार रुपैयाँ सुनको मूल्य बढेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण करिब तीन महिनासम्म कोरोबार बन्द भएको थियो । यसरी बन्द रहेको व्यवसाय गत जेठ २६ गतेदेखि सुचारु भएको थियो । तर व्यवसाय सञ्चालनमा आए पनि सुन किन्ने भन्दा पनि बेच्ने मानिसहरु बढेका छन् ।
गत आवको सुरुको महिना साउन १ गते ६४ हजार ३ सय कायम रहेको सुनको मूल्य चालु आवको शुरुको महिना साउन १ गते ९२ हजार ७ सयमा कारोबार भइरहेको थियो । चालु आवको सुरुदेखि घटबढ भइरहेको सुनको मूल्य आज एकै दिन ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय पुगेको छ । गत आव साउन र आजसम्मको सुनको मुल्य हेर्दा यो एक आर्थिक वर्षमा ३० हजार रुपैयाँ प्रतितोला बढेको देखिन्छ । चाँदीमा पनि आज प्रतितोला १० रुपैंयाँले बढेर चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको छ ।
यो भन्दा अगाडि लकडाउनको कारण बन्द रहेको सुनको कारोबार जेठ २६ गतेबाट सुरु भएको थियो । सुनचाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुनचाँदीको नयाँ मूल्य तोक्दा सुनको मूल्य बढेर प्रतितोला ८७ हजार ४०० रुपैयाँ पुगेको थियो । यसरी करिव तीन महिना कारोबार बन्द भएर नयाँ तोक्दा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैंयाँ बृद्धि भएको थियो भने चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पूगेको छ ।
कोरोनाको प्रभावले मुलुक लकडाउन हुनु अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो । यहि समयमा सरकारले बजेटमार्फत सुन आयातमा लाग्ने भन्सारदर प्रतितोला २ हजार ३२ रुपैयाँले बृद्धि गरेको थियो । यो भन्सार पनि सुनको मूल्यमा जोडिने भएकाले पनि सुनको मूल्यबृद्धी धेरै देखिन थालेको छ ।
यसरी सुनको मूल्य बृद्धी हुनुमा कोरोना भाइरस नै प्रमुख कारण रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार कोरोना भाइरसको प्रभावले आफूसँग भएको श्री सम्पती सुरक्षित बनाउनको लागि लगानीकर्ताहरुले सुनमा लगानी बढाएकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।
यहि अवस्था रहने हो भने २५ हजार व्यवसायीहरु पलायन हुने अवस्था आएको छ । व्यवसाय सञ्चालनमा आएको एक महिना भयो तर छिटफुट मात्रै कारोबार भएको उनको भनाइ छ ।
कुन महिनामा कति बढ्यो ?
गत आर्थिक वर्षको साउन १ गते ६४ हजार ५ सयमा कारोबार भएको थियो । तर महिनाको अन्त्यमा ७ हजारले बढेर ७१ हजार ५ रुपैयाँ पुगेको थियो । महिलाहरुको महान पर्व तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्ने भएका कारण साउनमा सुनको मूल्य बढ्ने गरेको छ ।
साउनमा बढेको सुनको मूल्यले भदौको शुरुवात देखिनै निरन्तरता रहेको थियो । भदौ महिनामा साउनको भन्दा अझ बढी घटबढ भई उकालो लागेको छ ।
भदौ ९ गते नेपालको इतिहासमै सबैभन्दा बढी छापावाला सुन तोलाको ७३ हजार ५ सयमा कारोबार भएको थियो । त्यसपछि केहि ओरालो लागे जस्तो गरेर पुनः भदौ १८ गते सोहि बिन्दुमा मूल्य पूगेको थियो भने महिनाको अन्तिममा ७१ हजार ३ सयमा झरेको थियो । यसरी भदौमा प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको थियो । यो महिनामा अमेरिका, चीन ब्यापार युद्धका कारण यो महिनामा सुनको मूल्य बढेको थियो ।
भदौ महिनामा उच्च बिन्दुमा पुगेको सुनको मूल्य असोजमा आएर सामान्य घटबढ मात्रै भएको थियो । असोज महिनाको सुरुवातमा ७१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य महिनाको अन्त्यमा घटेको थियो भने बीचमा ७ सय रुपैयाँले बढेर ७२ हजार पुगेको थियो ।
कात्तिक महिनामा पनि सुनको मूल्य त्यति धेरै घटबढ भएको थिएन । असोज महिनामा भएको मूल्य अनुसार नै कारोबार भएको छ । भदौ एक गते ७० हजार ६ सयमा कारोबार भएकोमा वीचमा १४ सयले बढेर ७२ हजार पुगेको थियो भने कात्तिक २२ गते घटेर ६९ हजार ९ सय पनि पुगेको थियो । यसरी समग्रमा कात्तिक महिना १४ सय रुपैयाँ बढेको थियो ।
मंसिर महिनाभरी पनि सुनको मूल्य घटबढ भइरहयो । मंसिर महिनामा नेपाली प्रचलन अनुसार लगनको महिना रहेकाले नेपाली बजारमा सुनको माग बढ्ने गर्छ । यहि भएर पनि मंसिर महिनामा सुनको मूल्य घटबढ भइरहन्छ । तर यो महिनामा ४ सय रुपैयाँ भन्दा बढी मूल्य बढेको छैन । पुष महिनामा मात्र प्रतितोला १३ सय रुपैयाँ बढेको छ ।
माघ महिनादेखि आजसम्ममा सुन प्रतितोला १९ हजार ३ सय बढेको छ । पछिल्लो समय सुनको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा सुनको मूल्य १ लाख नाघ्ने अनुमान गरिएको छ । यो अनुमान अनुसार पनि सुनको मूल्य १ लाखको नजिक पुग्न थालेको छ । अब ५ हजार ५ सय बढ्यो भने १ लाख पुग्छ । विश्व बजारमा सन् २०२० भित्रमा प्रतिऔस २ हजार अमेरिकी डलर पुग्ने आंकलन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ८६८.५१ अमेरिकी डलर रहेको छ । नेपालमा सुनको मूल्य निर्धारण अन्र्तराष्ट्रिय बजारकै आधारमा गर्ने गरिन्छ । ७५ प्रतिशत अन्र्तराष्ट्रिय बजार र २५ प्रतिशत भारतिय बजारलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गरिन्छ ।
लकडाउनका कारण अन्य व्यवसाय चौपट भएका बेला अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएपछि सुनको मूल्य आकाशिएको हो । अमेरिका तथा अन्य मुलुकहरुको केन्द्रीय बैंकले कोभिड–१९ को मन्दीका कारण निम्तिएको मुद्रा संकुचनको विपरित जोखिमसँग जुध्नका लागि ब्याजदरमा कटौती गरेकाले सुनको मूल्य लगातार रुपमा उकालो लागेको हो ।
यतिबेला सरकारी ऋणपत्र लगायतको ब्याजदर तल ओर्लिएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको देखिन्छ । लकडाउन यता नेपालमा सुनको कारोवार नभए पनि विश्व बजारमा भने नियमित कारोवार भइरहेको छ । सुनको मूल्य बृद्धी हुँदा कारोबार पनि ठप्प जस्तै भएको छ । चार महिनाको लकडाउनले सुनको कारोबार करिव तीन महिनासम्म बन्द रहेको थियो । यसरी लकडाउन पछि बजार सञ्चालन आउँदा पनि कारोबार छिटफुट भन्दा हुन सकेको छैन ।
यो वर्ष भरी नै सुनको मूल्यमा आएको उतारचढावले खासै कारोबार नभएकाले बैकहरुमा आयात भएको सुन थन्किएर बसेको छ । गत आर्थिक वर्षमा आयात गरेको ३२२.०५ केजी सुन मौज्दात रहेको बैर्कर संघले जनाएको छ ।





























प्रतिक्रिया