रोजगारी आव्हान गर्दै काभ्रेका स्थानीय तहहरु

रोजगारी आव्हान गर्दै काभ्रेका स्थानीय तहहरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भकै दिन साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग गर्यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

सय दिनको उक्त रोजगार कार्यक्रम अन्तर्गत आजदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी प्रकाशित उक्त सूचनामा नगरभित्रका नागरिक सहभागी हुन पाउने हुन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता हो”, नगरप्रमुख टिपी शर्माले भने। उनका अनुसार गत साल प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्यो, यस वर्ष पनि रोजगारप्रति नगरका बासिन्दाको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम अन्तर्गत नै बनेपा, पनौती र मण्डनदेउपुर नगरले पनि साउन पहिलोसाता सँगसँगै रोजगारी संलग्न हुन चाहनेको निवेदन माग गरेका छन् । काम गर्न चाहने नागरिकले निवेदन दिन ती नगरले आह्वान गरेका हुन् । कृषिजन्य उत्पादनमा वर्षेनी तीन महिना मात्रै खान पुग्ने परिवारका सदस्य, निजी बसोबासका नभएका, एक्ल महिला, दलित समुदायका व्यक्ति, अल्पसङ्ख्यक तथा लोपोन्मुख परिवारका सदस्य, शहीद तथा बेपत्ता पारिएका सदस्यलाई रोजगारीमा प्राथमिकता दिइएको पनौती नगरप्रमुख भिम न्यौपानेले जानकारी दिए ।

मण्डनदेउपुर नगरले भने ‘कामको लागि खाद्यान्न’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण खाद्यान्नको समस्या परेका नगरका बासिन्दालाई लक्षित गरी सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत वडामा सञ्चालित सार्वजनिक काममा सहभागिता जनाउनु पर्नेछ । निर्धारित समय अनुसार राहत प्याकेजमा २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र दुई प्याकेट नुन दिने गरेको छ ।

बनेपा नगरले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७७/०७८ का लागि न्यूनतम् १०० दिनको रोजगारीमा इच्छुक नगरका बेरोगजार व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचित गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको बनेपा नगर उपप्रमुख रेखा दाहाल सापकोटाले बताइन् । उनले भनिन्, “रोजगार कार्यक्रमले राहत मिलेको र नागरिक निकै उत्साहित बनेको पाइयो ।”

काभ्रेका स्थानीय तह आर्थिक वर्ष शुरुआती चरणमै सो कार्यक्रमलाई गत सालकै निरन्तरतामा देखिएका छन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमको तयारीमा छौँ, यस वर्ष निकै उत्साहजनक हुनेछ”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । कार्यक्रम अन्तर्गत यहाँका स्थानीय तहले गतसाल आफ्नो क्षेत्रका करिब एकदेखि दुई सयसम्म बेरोजगार नागरिकलाई रोजगारी प्रदान गरिसकेका छन् । काभ्रेमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिले महत्व दिई पहल गरेका सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन, जलाधार, पर्यटन र आवश्यकताअनुसार अन्य श्रममा लगाइनेछ । पारिश्रमिक निर्धारण समितिले दैनिक ज्याला रु ५१७ तोकेको छ । जस अनुसार एक व्यक्तिले तोकिएको पूरा समय काम गरे रु ५१ हजार ७०० ज्याला पाउनेछन् ।

सो कार्यक्रमका लागि गत वर्ष कूल रु ६ अर्ब १० करोड विनियोजन गरेको सरकारले यस वर्षका लागि रु ११ अर्ब ६० करोड विनियोजन गरेको छ । सरकारले श्रमजीवी जनताले भोग्दै आएको बेरोजगार समस्यालाई प्राथमिकता दिइएको कार्यक्रमले गरिब तथा मध्यम परिवारलाई पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्न लिएको अठोटकाबीच अल्पकालीन यस कार्यक्रमलाई दिगोपना र रोजगार सिर्जनामा रुपान्तरण गर्ने चुनौती भने कायमै देखिएको छ । सात प्रदेशका ७५३ वटै स्थानीय तहमा यस वर्ष दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको उद्देश्य रहेको छ ।रासस

Logo