राणाकालमा निर्माण भएको भीमफेदी सडकको स्तरोन्नति गरिने

राणाकालमा निर्माण भएको भीमफेदी सडकको स्तरोन्नति गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पुर्याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताएका छन्।

मन्त्री फुयाँलले आज कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती प्रदेश र स्थानीय सरकार क्रियाशील रहेको बताए।

राणाकालमा भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म पुर्याएका थिए । “बाटाको ऐतिहासिक महत्व भएकाले यसको स्तरोन्नति गर्न तीनै तहका सरकार लागेको छन्”, उनले भने ।

उनका अनुसार आजसम्म पनि सामान्य फराकिलो पार्ने बाहेक सो सडक स्तरोन्नति गरिएको थिएन । “गाडी आउजाउ हुनेसम्म त भयो तर निकै असजिलो र स्तरहीन छ, त्यसलाई हामी स्तरीय बनाउँछौँ”, उनले भने। ऐतिहासिक चित्लाङ सडकको स्तरोन्नति गर्न तीनै तहको सरकारको समन्वयमा काम अगाडि बढाउने योजना बनेको उनले जानकारी दिए । सो कार्यका लागि यही साउन ३ गते भौतिक मन्त्रालय, हेटौँडामा जनप्रतिनिधिसहितको छलफल भएको थियो ।

मन्त्री फुयाँलले साउन ११ गते चित्लाङमा सो सडक स्तरोन्नति सम्बन्धमा अन्तरक्रिया गरिने जनाइएको छ । उक्त सडकको ऐतिहासिक पक्षको संरक्षण गर्दै फराकिलो र पक्की गरिने सम्बन्धमा विभिन्न निकायका व्यक्तिसँग छलफल हुने मन्त्री फुयाँलले बताए।रासस

Logo