पर्यटकीय गन्तब्य निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न अध्यक्ष ढकालको आग्रह

पर्यटकीय गन्तब्य निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन्। 

बिहीबार काठमाडौँमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “हाम्रा विभिन्न सरकारी निकायहरुबीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरुले विभिन्न किसिमका झमेलाहरु झेल्न परिरहेको गुनासो आउने गरेको छ। अर्थ, गृह र पर्यटन मन्त्रालयहरुबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ। यो ठूलो समस्या होइन् । यसलाई एक/दुई दिन वा हप्ता दिन भित्रै समाधान गर्न सकिन्छ । म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ।”

उनले हरेक प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तब्यहरु निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरे। काठमाडौँको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरु सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाईलाई दोब्बर गर्न सकिने बताए। 

“हामीले जहिले पनि समस्या मात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौँको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केवलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तब्य बनेको छ। हामीले यस्ता गन्तब्यहरु हरेक प्रदेशमा कम्तिमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइ लम्बाउन र खर्च बढाउन सकिन्छ,” उनले भने। 

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनपर्छ भनेर अभियन्ताको रुपमा लागेको उनले बताए। उनले नेपाल-भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्यहरु भारतीय पर्यटकको रोजाइका नयाँ गन्तब्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे। 

“सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्यहरु भारतीय पर्यटकको रोजाइ बन्दै छन् । नेपालका हिल स्टेशनमा आएर विवाह, पिकनिक, पार्टी लगायत अन्य सामाजिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गर्न चाहने भारतीय र अन्य छिमेकी देशका पर्यटकहरुलाई यहाँ आकर्षित गर्न सकिन्छ। सरकारले न्यूनतम पूर्वाधारहरु जस्तै, बाटो, बिजुली, पानी र सुरक्षा मात्र पनि व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले यसको पहल गरिरहेको छ। यसबाट अहिले विदेशी मुद्राको सन्चितिमा देखिएको समस्या समाधानका साथै रोजगारी र राजश्वमा समेत ठूलो योगदान पुग्न सक्छ।”

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह समेत गरे।

“हामीकहाँ दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका छैनन्। विभिन्न देश र शहरलाई हवाई यातायातमार्फत प्रत्यक्ष जोड्न सकेमा थप विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ। यसतर्फ सरकारले ध्यान दिन जरुरी छ,” उनले भने। 
उनले विश्वका धेरै देशहरुमा पर्यटकलाई धेरै भन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा अधिकतम् सिमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए। 

Skip This
Skip This
Logo