उद्योग वाणिज्य महासंघको महाभिडन्त : ढकाल कि प्रधान ? (भिडियोसहित)

उद्योग वाणिज्य महासंघको महाभिडन्त : ढकाल कि प्रधान ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला नीजि क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहौलले तातेको छ । गत चैत अन्तिम साता हुने भनिएको महासंघको चुनाव कोरोना भाइरसका कारण सरेर साउन २६ र २७ गते तय भएको छ । चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधुप पनि निकै बढेको छ । विधान अनुसार महासंघको अध्यक्ष स्वतः वरिष्ठ उपाध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक हुने गर्छ ।

अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतः अध्यक्ष हुँदैछन् । अध्यक्षका लागि चुनाव नहुने भएकाले महासंघको चुनावमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा पनि गर्दै आएका छन् ।

यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उपाध्यक्षद्वय ढकाल र प्रधानबीचको चुनाव निकै रोचक हुने बताइएको छ । उनीहरूले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार तथा भेटघाटलाई तीव्र बनाएका छन् । कोरोनाकै वीच उपाध्यक्षद्वय ढकाल र प्रधानले तामझामका साथ महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

व्यवसायी ढकाल जिल्ला र नगर उपाध्यक्ष गुणनिधी तिवारी, एसोसियट उपाध्यक्ष, रामचन्द्र सांघाई, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै व्यवसायी ढकालले आम व्यवसायीका समस्या नीति निर्माण तहमा पु¥याउने बताएका छन् । विगतका दिनहरुमा व्यवसायीहरु चुनाव जितेर भाग्ने गरेको भन्दै आफू चुनाव जितेर नभाग्ने तथा आवश्यक परेका बेला अभिभावकको भूमिका निर्वाह गर्ने व्यवसायी ढकालले बताएका छन् ।

आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मुल नारासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षका बलियो दावेदारको रुपमा हेरिएको छ । आम उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको माया, सद्भाव तथा उत्प्रेरणाले आफूले महासंघको वरिष्ठ उपाध्यक्ष जस्तो पदमा उम्मेदवारी दिएको उनले बताएका छन् । जलविद्युत, उत्पादन, सूचना प्रविधी तथा ट्राभल एण्ड टुरमा लगानी गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उमेदवारी हुन् किशोर प्रधान । उनले पनि तामझाम सहित आफ्नो उमेद्वारी घोषणा गरेका छन् । बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोरियट उपाध्यक्ष सौरभ ज्योती र जिल्ला÷नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्यानलसहित प्रधानले उमेद्वारी घोषणा गरेका हुन् । उपाध्यक्ष प्रधान यसअघिको चुनावमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । एक उपाध्यक्ष पद रिक्त भएपछि प्रधानलाई सबैको सहमतिमा महासंघको जिल्लानगर उपाध्यक्ष बनाइएको थियो । उनलाई वरिष्ठ उपाध्यक्ष गोल्छाले साथ दिने भएका छन् । त्यति मात्रै होइन, पूर्वअध्यक्षहरुको साथ पनि प्रधानलाई छ । यस आधारमा उनको संभावना बलियो भएको बताइन्छ । उपाध्यक्ष प्रधानले महासंघको सुदृढीकरण गर्ने गरी उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका हुन् । उनी विराटनगरका व्यवसायी हुन् । जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो । उनले उद्योग व्यवसायीका लगानीको मनोबल बढाउने, उद्योग व्यवसायीको हकहितमा काम गर्ने, संगठनको सुदृढीकरण गर्ने, जिल्लाका बस्तुगत सदस्यको क्षमता अभिवृद्धि गर्ने लगायतका एजेन्डा उठाएका छन् । उनले आफूले कुनै पनि बहानामा महासंघको चुनाव जित्ने दावी गरेका छन् ।

प्रधानलाई वरिष्ठ उपाध्यक्ष र पूर्व अध्यक्षहरुले किन दिए साथ ?

उपाध्यक्ष प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी लगायत सहभागी थिए । अध्यक्ष भवानी राणाको पनि समर्थन प्रधानलाई रहेको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले विशिष्ठ सदस्य चण्डीराज ढकाललाई विधान संशोधन गरेर हटाउन खोजेका थिए । त्यसकारण उपाध्यक्ष गोल्छा ढकालसँग रुष्ट मात्रै छैनन्, उनीहरुको प्यानललाई समर्थन समेत गरेनन् । बरिष्ठ उपाध्यक्ष ढकाल र चन्डीराज ढकालसँग रुष्ट भएका गोल्छासहित पूर्वअध्यक्षहरु अधिकांशले उपाध्यक्ष प्रधानलाई साथ दिएका हुन् । उपाध्यक्ष गोल्छाले महासंघमा काम गर्न केही योजनाहरु भएकाले ती कामहरु गर्न टीम आवश्यक भएको र प्रधानको टीम काम गर्न सक्ने भएकाले आफूले समर्थन गरेको बताए । त्यस्तै, निवर्तमान अध्यक्ष पशुपती मुरारकाले गोल्छाको नेतृत्वलाई जसले सहयोग गर्छ त्यसलाई समर्थन गर्ने बताएका छन् ।

बरिष्ठ उपाध्यक्षका उमेद्वार ढकाल र प्रधान एक आपसमा दोषरोपण गर्दै आएका छन् । स्वभावमा शान्त मानिए पनि मंगलबार उम्मेदवारी घोषणासभामा व्यवसायी ढकाल आक्रमक रुपमा प्रस्तुत भए । उनले पहिलो पटक आगामी अध्यक्ष महासंघका अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग सार्वजनिक रुपमा नै असन्तुष्टी पोखे । व्यवसायी ढकालले उनका प्रतिस्पधी प्रधानलाई साथ दिएका गोल्छामाथि आक्रोश पोख्दै आफूले पहिले वरिष्ठ उपाध्यक्ष हुँदा सघाएको नबिर्सन भनेका छन् ।

त्यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्षका उमेदवार प्रधानले अनुभवका आधारमा ढकाल कमजोर भएको बताए । उनले व्यवसायी ढकाल १ कक्षामा पुगेर १० कक्षाको जाँच दिने तयारी गरेकाले लड्ने बताएका छन् ।

Logo