नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो ।
यो सम्झौतापछि हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बाेल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रसबोर्डर डिजिटल पेमेन्ट सुविधाले लाखौँ मानिसलाई फाइदा पुग्ने बताएका थिए । उनले भने, ‟क्रसबोर्डर डिजिटल पेमेन्टका लागि फाइनान्सियल कनेक्टिभिटीमा उठाइएको कदमको स्वागत गर्दछौँ । यसको फाइदा हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थयात्रीसँगै उपचारका लागि भारत आउने नागरिकलाई पनि मिल्नेछ ।”
उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएकोे जानकारी दिए ।
उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उनको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ ।
भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।































प्रतिक्रिया