धान दिवसको दिन कृषिमन्त्रीको गुनासोः ‘कृषिको महत्व योजना आयोगले बुझेन’

धान दिवसको दिन कृषिमन्त्रीको गुनासोः ‘कृषिको महत्व योजना आयोगले बुझेन’

केन्द्रबिन्दु
0
Shares

असारे चटारोले किसानलाई छोपेको छ । मानो रोपेर मुरी उब्जाउने यो असार महिना देशभरका किसानका लागि विशेष हुने गर्दछ । कुनै समय नेपाल आफ्नै धान उत्पादनमा रमाउने र निर्यात पनि गर्ने अवस्थामा थियो । तर अहिले त्यो अवस्था नहुँदा आयातमा रमाउँदै खेतबारी बाँझो छाड्ने अवस्थामा पुगेको छ । 

असार पन्ध्र अर्थात धान दिवस । असार पन्ध्रमा किसानलाई विशेष चटारो हुने गर्छ । तर धान दिवस मनाउन थालेदेखि सरकार र उसका मन्त्रीहरु यस दिन व्यस्त हुन थालेका छन् । आइतबार नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा आयोजित धान दिवस र धान रोपाई कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुषालले राष्ट्रिय योजना आयोगको कारण कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको गुनासो पोखे । 

उनले भने, ‘कृषि मन्त्रालयलाई आवश्यकता कति छ भन्ने नबुझी योजना आयोगले बजेटको सिलिङ तोक्छ, यही गल्तीका कारण कृषिमा यसपटक बजेट कम आयो, जति आयो त्यतिमा नै चित्त बुझाउनु पर्ने अवस्था छ ।’ 

मन्त्री भुषालले पहिला धान खेति गरिदै आएको १० लाख ३० हजार हेक्टर जग्गा अहिले बाँझो छाडिएको उल्लेख गर्दै बिभिन्न कारणले खेति हुन छाडेको बताए । उनले पुनः बाँझो छाडिएको जमिनमा र अन्य कारणमा ध्यान दिने हो भने नेपाल पुनः धान निर्यात गर्ने अवस्थामा पुग्ने बताए । 

उनले भने ‘१० लाख ३० हजार हेक्टर जमिन बाँझो छाडिएको छ, पर्याप्त सेवा सुविधा छैन्, जनताको जीवन शैलीमा आएको परिवर्तनका कारण पनि खेतिपाति घटेको छ, जनता शहरमुखी भएका छनु, पहाडबाट वसाई सराई गर्ने प्रवृति बढेको छ, अर्को तर्फ जंगली जनावरले दिएको दुःखको कारण पनि खेतिपाति घटेको छ । उत्पादन हुने जमिन बाँझो भएकाले देशमा उत्पादन घट्यो, युवाहरुको वैदेशिक रोजगारीमा जाने र यहाँ पर्याप्त सेवा सुविधा पु-याउन नसक्नु पनि हो, यदि बाँझो छाडिएको जमिनमा पुनः खेति गरिए नेपाललाई पुग्ने उत्पादन भएर निर्यात पनि गर्न सक्छौं ।’ 

मलको वितरण बदमासी भएको स्वीकार गर्दै मन्त्री भुषालले बदमासी गर्नेलाई कारवाही गर्न सरकार पछि नपर्ने बताए । उनले भने, ‘मलको वितरणमा बद्मासी भएको छ । जहाँ बदमासी भएको छ, त्यहाँ समान्न नै भनेर अनुरोध गरेको छु  । सूचना आएको ठाउँमा कारवाहीपनि सुरु भईसकेको छ । मलको आपूर्ति भएको छ हुँदै पनि छ । मल पाईएन भनेर प्रचारगर्नु पर्दैन जहाँ हुनुपर्ने हो त्यहाँ गएर हेरे हुन्छ ।  विउको पनि समस्या छैन् । ’ 

मन्त्री भुषालले धानको उत्पादन कसरी थप्ने भन्ने कुरामा जोड दिनुपर्ने बताए । राष्ट्रिय उत्पादनमा वृद्धि गर्ने र आत्मनिर्भर अर्थतन्त्रलाई अगाडि बढाउने हो भने धानको उत्पादन बढाएर नै लानु पर्ने उनको जोड थियो । 

Skip This
Skip This
Logo