किन भन्सारमै थन्किए ३१ सय गाडी ?

किन भन्सारमै थन्किए ३१ सय गाडी ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाइ एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ। बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि ल्याइएका साढे ३१ सय गाडी वीरगन्ज र भैरहवा भन्सारपरिसरमा थन्किएका छन्। 

असरल्ल राखिएका छन्। यार्डहरूमा कोभिडअघिदेखि ल्याइएका अर्बौँ मूल्यका साना–ठूला गाडीहरू अलपत्र अवस्थामा रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। वीरगन्ज आइसिपीमा साना–ठूला १७ सय २८ र वीरगन्जकै सुक्खा बन्दरगाहमा ३५ गाडी थन्किएका छन्।

रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सारमा १३ सय ७७ गाडी पार्किङ गरेर राखिएका छन्। गाडी आयातकर्ता कम्पनीले भन्सार जाँचपास गर्न नसकेर यार्डमा असरल्ल राखेको हो। मन्दीका कारण दुईपांग्रे मोटरसाइकल, चारपांग्रे प्यासेन्जर कारदेखि ठूला कमर्सियल गाडीसम्मको बिक्री स्वात्तै घटेको व्यवसायीहरुको गुनासो छ।

वीरगन्ज आइसिपीको गेटबाटै नयाँ गाडीहरूको लस्कर सुरु हुन्छ। पार्किङ गरिएका कमर्सियल गाडी र यिनका च्यासिसहरू हेर्दै अगाडि बढ्दा प्यासेन्जर कारहरू राखिएका ठाउँमा ३० लाख रेन्जको हुन्डाई ग्रान्ड आइटेनदेखि साढे तीन करोडसम्म पर्ने टायोटा ल्यान्डक्रुजसम्म देखिन्छन्। खासगरी, यार्डमा कमर्सियल गाडी, ट्रक, टिपर, पिकअप र यिनका चेसिसको लस्कर छ।

कोभिडअगाडिदेखिका गाडीहरू जाँचपास हुन नसकेको वीरगन्ज आइसिपी सञ्चालक कम्पनी टिआरएस हिमालयन लोजीपार्कका प्रशासकीय अधिकृत तर्कराज जोशीले बताए। वैशाख र १५ जेठसम्म विभिन्न नाकाबाट करिब १४ सय इलेक्ट्रिक कार भन्सार जाँचपास भई भित्रिएका थिए। 

बजेटमा महँगा विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क घटेपछि टेस्ला, आयोनिक फाइभजस्ता महँगो मूल्यका केही थान विद्युतीय कारहरू भन्सार जाँचपास भएर भित्रिए। तर, अर्थतन्त्रमा देखिएको मन्दीका कारण ठूलो संख्यामा गाडीहरू यार्डमै थन्किँदा राजस्व संकलनमा ठूलो असर परेको छ।भन्सारसम्म आइपुगेका गाडी जाँचपास गरेर ल्याउन आयातकर्ता कम्पनीले भन्सार महसुल तिर्नुपर्ने हुन्छ। तर, अहिले बिक्री ठप्प हुँदा भन्सार तिरेर गाडी ल्याउने अवस्था नरहेको व्यवसायीहरू बताउँछन्।

भन्सारमा इलेक्ट्रिक गाडीहरू भने धेरै छैनन्। त्यति देखिँदैनन्। वीरगन्ज आइसिपीमा हुन्डाईको इलेक्ट्रोनिक गाडी ‘आयोनिक फाइभ’ केही संख्यामा देखिन्छन्। पछिल्लो समय इलेक्ट्रिक गाडीको माग बढ्दो ट्रेन्डमा रहेकाले भन्सारमा आइपुग्ने गाडीहरू जाँचपास भइरहेका छन्।

Skip This
Skip This
Logo