को हुन् ३३ वर्षको उमेरमा पहिलोपटक भारतीय टेस्ट टोलीमा अटाएका जैन ?

को हुन् ३३ वर्षको उमेरमा पहिलोपटक भारतीय टेस्ट टोलीमा अटाएका जैन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । भारतकाे मध्य प्रदेशका भरपर्दा अलराउन्डर सारांश जैनले ३३ वर्षको उमेरमा पहिलोपटक भारतीय राष्ट्रिय टेस्ट टोलीमा स्थान बनाएका छन्। अगस्टमा श्रीलङ्काविरुद्ध हुने दुई खेलको टेस्ट शृङ्खलाका लागि मंगलबार घोषित भारतीय टोलीमा उनी समावेश भएका हुन्।

को हुन् सारांश जैन ?

बायाँहाते ब्याटर तथा दायाँहाते अफस्पिनर जैनले ५४ प्रथम श्रेणी (फर्स्ट क्लास) खेलमा ३१.७५ को औसतमा २,२२३ रन बनाउनुका साथै २७.३० को औसतमा १८८ विकेट लिएका छन्। उनले ६७ वटा लिस्ट ‘ए’ र टी-२० खेलहरू खेलेको अनुभव बटुले पनि रातो बल (रेड बल) क्रिकेटलाई नै आफ्नो बलियो पक्ष मान्छन्।

भारतीय भेट्रान स्पिनर रविचन्द्रन अश्विनलाई आफ्नो प्रेरणाको स्रोत मान्ने जैनले सन् २०२४ मा भनेका थिए, “म प्रायः अश्विन दाजुलाई हेर्छु र उहाँबाटै प्रभावित हुन्छु। उहाँकै जस्तो समर्पणका साथ क्रिकेट खेल्न चाहन्छु।”

पूर्व प्रथम श्रेणी क्रिकेटर सुबोध जैनका छोरा सारांशले सन् २०१४ मा रणजी ट्रफीमा डेब्यु गरेका थिए। तर, २०२२ मा मध्य प्रदेशलाई पहिलोपटक उपाधि दिलाउने क्रममा नकआउट चरणका खेलहरूमा १३ विकेट र एक अर्धशतक प्रहार गरेपछि मात्र उनी चर्चामा आएका हुन्।

हालै सकिएको रणजी ट्रफी सिजन उनको करियरकै सबैभन्दा सफल रह्यो, जहाँ उनले ५७.५५ को औसतमा ५१८ रन बनाए र २०.४३ को औसतमा ३० विकेट लिए। त्यसअघि सेन्ट्रल जोनबाट खेल्दै उनले दिलीप ट्रफीमा दुई अर्धशतक र १६ विकेट लिएर ‘प्लेयर अफ द सिरिज’ बनेका थिए।

हालै श्रीलङ्कामा सम्पन्न भारत ‘ए’ को भ्रमणका क्रममा दोस्रो खेलमा अविजित ७० रन बनाउनुका साथै ६ विकेट लिएर जैनले आफ्नो दाबी झनै बलियो बनाएका थिए।

डेब्युको सम्भावना कति ?

श्रीलङ्काका स्पिनमैत्री पिचमा भारतले तीन स्पिनर मैदानमा उतार्ने सम्भावना उच्च छ। रविन्द्र जडेजा र कुलदीप यादव अन्तिम ११ मा पर्ने पक्काजस्तै रहेकाले तेस्रो स्पिनरको स्थानका लागि मानव सुथार र सारांश जैनबीच प्रतिस्पर्धा हुनेछ।

सुथार देब्रेहाते स्पिनर भएकाले टोलीमा पहिले नै जडेजा उपलब्ध हुँदा टोली व्यवस्थापनले जैनलाई प्राथमिकतामा राख्नसक्छ। साथै, श्रीलङ्काली ब्याटिङ लाइनअपमा बायाँहाते ब्याटर धेरै भएकाले जैनले प्लेइङ ११ मा मौका पाउने सम्भावना बढेको छ।

यदि सारांशले यस शृङ्खलाबाट टेस्ट डेब्यु गरेमा उनी सन् १९९८ मा रोबिन सिंहपछि ३३ वर्षको उमेर पार गरेर भारतका लागि टेस्ट डेब्यु गर्ने पहिलो खेलाडी बन्नेछन्।

Logo