काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षदेखि एकिकृत नेशनल पेमेन्ट गेट–वेको सुरुवात गर्ने भएको छ । यस विषयमा गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर संचालन नै कहिलेदेखि हुन्छ भन्ने चाँही टुंगो लागिसकेको छैन ।
राष्ट्र बैंकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पेमेन्ट गेट–वेका लागि आवश्यक सेटलमेन्टका लागि बैंकको व्यवस्था गर्न सहमति दिइसकेको छ । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट र कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्र समेतलाई यस भुक्तानी प्रणालीमा समेटिनेछ । यस भुक्तानी प्रणालीलाई राष्ट्र बैंकले नियमन गर्नेछ । भुक्तानीको एकद्वार प्रणाली नहुँदा उपभोक्ताले समस्या भोग्दै आएका थिए । अब एकिकृत पेमेन्ट गेट–वे सुरु भएपछि उपभोक्ताले यस्तो समस्याबाट उन्मुक्ति पाउने भएका छन् । त्यसका साथै मुलुकभित्र र बाहिरको विद्युतीय भुक्तानीको समस्या हटेर जाने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले बताए ।
पेमेन्ट गेट–वे संचालनमा ल्याउन आवश्यक अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पूर्वाधार तयार भइसकेको भए पनि केही कानुनी प्रक्रियाहरु भने पूरा गर्ने काम बाँकी रहेको कँडेलले बताए । त्यसकारण ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने एकिन नभए पनि आगामी आर्थिक वर्षभित्रै सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सरकारले गर्ने खर्च, निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानी र जनतालाई दिने सामाजिक सुरक्षा एकद्वार प्रणालीमा ल्याइनेछ ।
के हो नेशनल गेट–वे पेमेन्ट गेटवे ?
नेशनल पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको एक महत्वपूर्ण पूर्वाधार हो । हाल ई–कमर्सका विभिन्न अनलाइन साइटले बजारमा कारोबार गरिरहेका छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि विभिन्न पद्धति अपनाएर तथा अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनीहरुसँगको समन्वयमा काम गरिरहेका छन् । यसलाई एकै ठाउँमा ल्याइ धेरै निकायसँग भर पर्नु नपर्ने गरी सरकारसँग सम्वन्धित भुक्तानीहरु सहज र सरलीकृत एवं भरपर्दो र विश्वासिलो बनाउन नेसनल पेमेन्ट गेट–वेको अवधारणा आएको हो ।
कसरी काम गर्छ एकिकृत नेशनल पेमेन्ट गेट–वेले ?
यो एउटा एकद्वार भुक्तानी प्रणाली हो । यसले रियल टाइममा नै भुक्तानी गर्ने काम गर्छ । सबै प्रकारका विद्युतिय भुक्तानीहरुलाई एकिकृत रुपमा एक ठाउँमा ल्याएर गरिने कारोबार नै नेशनल पेमेन्ट गेट–वे हो । यो स्वीचको रुट भएर गरिने कारोबार हो । सुरुको चरणमा एटिएम कार्ड, तथा वालेटहरु समेटिनेछ भने पछि विस्तारै सबै प्रकारका विद्युतीय भुक्तानीलाई समेट्ने प्रमुख कँडेलले बताए । यसबाट वास्तविक आम्दानी खर्चको जानकारी समेत तत्काल थाहा पाउन सकिन्छ । अहिले बनेको सिस्टमबाट १ सेकेण्डमा १ हजारवटा कारोबार गर्न सकिन्छ ।
के के समेटिन्छन् यस प्रणालीमा ?
नेसनल पेमेन्ट गेट–वे अन्तर्गत कार्ड, क्रेडिट ट्रान्सफर, डेबिट ट्रान्सफर, कमर्स, वालेट, ईचेक, बिल पेमेन्ट लगायतका कारोबारलाई एकिकृतरुपमा सरलिकृत गर्ने जानकारी समेत पौडेलले दिएका थिए । नेसनल पेमेन्ट गेटवेमा मोबाइल सेवा प्रदायक, कमर्सियल बैंक, सरकारी निकाय आवद्ध हुनेछन् । यसमा राष्ट्र बैंकले अनुगमन र सुपरीवेक्षणको काम गर्ने र राष्ट्रिय सूचना केन्द्रले गोपनियता, सुरक्षा लगायतका प्राविधिक पक्ष हेर्नेछ । यो गेट–वे सञ्चालनमा आएपछि सर्वसाधारणले भौतिक झन्झट व्यहोर्नु पर्ने छैन ।































प्रतिक्रिया