आजदेखि नयाँ आर्थिक वर्ष २०८०-८१ सुरु भएको छ।आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ।आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ। यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरूलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो।
सरकारले पहिलो पटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ। सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ। साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ।
सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ। यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ। आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ।
यस्तै,ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ।भन्सार महसुल,अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ। साथै थप सार्वजनिक सेयर निष्कासन एफपीओमा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ।





























प्रतिक्रिया