कैलालीमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीमा लक्ष्यभन्दा कम राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन। दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ।

कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो। तर उक्त आवमा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ। यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए। बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम सङ्कलन भएको उनले बताए ।

टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९/८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो। सो अवधिमा सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार मात्र राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व सङ्कलन कम भएको हो’, उनले भन्छन्।कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ। यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुटलगायत बस्तुको आयात अत्यधिक हुने गरेको छ। तर निर्यात भने न्यून मात्रामा हुने गरेको चौधरीले बताए।

स्थानीयवासीले सत्तीमा क्वारेन्टाइन कार्यालय स्थापनाको माग गर्दै आएका छन्। सत्ती भन्सारमा रहेको क्वारेन्टाइन कार्यालय सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो।‘विस्थापित भएका धेरै कार्यालय खुले। तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन’,स्थानीय सङ्गम चौधरी भन्छन्, ‘क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ।’

Skip This
Skip This
Logo