नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।   

चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताएका हुन् । 

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे । उनले कुनमिङ र पोखराबिचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्द्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । 

अध्यक्ष ढकालले चिनियाँ "ड्रागन बोट फेस्टिभल" मा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए ।  ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि उनले गराए । 

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई  लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । उनले युनान र नेपालबिचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई  थप विस्तार गर्न पनि आह्वान  गरे । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप  अभिवृद्धि हुने विश्वास समेत अध्यक्ष ढकालको छ । 

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणा  समेत गरे । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेताहरू, सरकारी अधिकारीहरू, व्यवसायीहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

Skip This
Skip This
Logo