काठमाडौं ।
करिब सात महिना अगाडि चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) यतिबेला विश्वभरी नै फैलिएको छ । यसको प्रभावले विश्व मानव समुदाय तथा विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसको नियन्त्रण तथा रोकथामको लागि करिव चार महिनादेखि विश्व नै लकडाउनमा रहेको छ । लकडाउनले विश्वभरका उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प रहेको थियो । यसले गर्दा विश्व अर्थतन्त्र समेत तहसनहस भएको छ ।
यो महामारीबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि लकडाउन भएको १ सय ४ दिन पुगिसकेको छ । तर, सरकारले तीन साता अघिदेखि लकडाउनलाई खुकुलो बनाएर केहि सहज बनाएको छ । यसले गर्दा अहिले केहि आर्थिक गतिविधि हुने क्षेत्र सार्वजानिक सवारीसाधन बाहेक उद्योग, कलकारखाना, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । यसरी लकडाउन सहज भएसँगै निजी सवारी साधन बाइक किन्न चाहनेहरुको लागि विभिन्न कम्पनीले अफर ल्याएका छन् ।
यसरी अब कसैले नयाँ बाइक वा स्कुटर किन्ने तयारीमा हुनुहुन्छ भने अहिले उपयुक्त समय आएको छ । कोरोना महामारीकाबीचमा नै लकडाउन केही खुकुलो भए नेपालमा बाइक बिक्रेता कम्पनीहरुले नयाँ बाइक तथा स्कुटर किन्नेहरुका लागि लक्षित गरी विशेष छुटका अफर तथा स्किम ल्याएका छन् । कसको योजना कस्तो ?
होण्डाको १ रुपैयाँ अफर
होण्डाले बाइक वा स्कुटर किन्न चाहाने ग्राहकका लागी विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । पहिलो योजना अन्तर्गत मोटरसाइकल किन्न चाहने ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी रकम बढीमा ३ बर्षसम्ममा तिर्न सकिने योजना ल्याएको छ । कम्पनीको नियम अनुसार ठिक समयमा किस्ता बुझाउँदा १३ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।
दोस्रो योजना अन्तर्गत एक रुपैयाँ मासिक किस्तामा होण्डा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यस अन्तर्गत चार किसिमको डाउन पेमेन्ट सुविधा उपलब्ध छ । यो योजनामा ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टको सुविधा रहेको छ ।
तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होण्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याजदरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ ।
चौथो योजना अन्तर्गत आफूलाई जुन सहज हुन्छ, त्यही अप्सन ग्राहकले छनोट गर्न सक्छन् । यस अन्र्तगत ग्राहकले ३ वर्ष सम्मको कर्जा अवधि भएको ऋण वा २० प्रतिशत डाउनपेमेन्ट देखिको सुविधा लिन सक्छन् यी सबै योजनामा बीमा वापत लाग्ने सबै खर्च र नामसारी गर्न लाग्ने रकम अग्रिम रुपमा ग्राहकले नै बुझाउन पर्छ ।
टीभीएसको अफर
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लकडाउन खुकुलो भएसँगै नयाँ योजना ल्याएको छ । यस अन्तर्गत नगद रकमका साथ टीभीएसको मोटरसाइकल किन्नेका लागि १२ हजार र स्कुटरका लागि १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी तत्काल पैसा नहुनेका लागि शुन्य डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको अफर समेत उपलब्ध छ । शुन्य डाउन पेमेन्ट अन्तर्गत शुरुमा कुनै पनि रकम नबुझाएर पनि मोटरसाइकल वा स्कुटर लैजान पाइने छ । तर यस स्किम अन्तर्गतको सुविधा सरकारी निकायका कर्मचारी, ए क्लास बैंकका कर्मचारी तथा प्रतिष्ठित संस्थाको कर्पोरेट ग्यारेन्टी लेटरको आधारमा प्रदान गरिने छ ।
अर्को शुन्य प्रतिशत ब्याज योजना अन्तर्गत शुरुमा मोटरसाइकल वा स्कुटरको मूल्यको ५० प्रतिशत बुझाउन सकिने र बाँकी रकम मोटरसाइकल वा स्कुटर अनुसार १२ वा १८ किस्तामा तिर्न सकिनेछ । २० वा ३० प्रतिशत डाउन पेमेन्ट बुझाउनेका लागि ३० महिनाको किस्ता अवधि हुनेछ भने त्यो भन्दा माथिको हकमा २४ महिनाको किस्ता अवधि हुनेछ ।
सुजुकी बाइकमा क्यास, एक्सचेन्ज र फाइनान्समा अफरै अफर
सुजुकी बाइकको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले प्रत्येक बाइक तथा मोटरसाइकलको खरिदमा १५ हजार छुट प्रदान गरिने विशेष अफर ल्याएको छ । कोभिड–१९ को महामारीबाट बन्द लकडाउन पश्चात भर्खरै नयाँ सुरुवात हुन लागेको अवसरमा नयाँ जोश, नयाँ जाँगर र नयाँ उत्साह थप्नका लागि यस प्रकारको अफर ल्याएको कम्पनीले बताएको छ ।
हार्लेको ५० हजार बराबरको सर्भिस
हार्ले डेभिडसन बाइक किन्नका लागि नयाँ स्किम ‘सेभ फर फ्युचर, हाफ द प्राइस’ आएको छ । नेपालका लागि हार्ले डेभिडसन बाइकको आधिकारिक वितरक हार्ले डेभिडसन अफ काठमाडौंले सो स्किम अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत ग्राहकले ४९ हजार ९९९ रुपैयाँ बराबरको कस्टमाइज्ड सर्भिस फाइदा प्राप्त गर्न सक्नेछन् । नेपाली बजारमा हार्ले डेभिडसनका स्ट्रिट ७५०, स्ट्रिट रड ७५० र आइरन ८८३ बाइक उपलब्ध छन् । यी बाइकको मूल्य क्रमशः २३ लाख, २७ लाख र ४० लाख रुपैयाँ छ ।
बीएमडब्ल्यु बाइकमा ६५ हजार बराबर छुट
नेपालका लागि बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्सले ‘अनलक योर लकडाउन अफर’ अन्तर्गत ६५ हजार रुपैयाँ बराबरको छुट अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत दुई अप्सनमा अफर प्राप्त गर्न सकिने छ । पहिलो अप्सन अन्तर्गत बीएमडब्ल्यु एड्भेन्चर प्याकेज, बीएमडब्ल्यु र अल्पाइनस्टारको आधिकारिक ज्याकेट, ट्राउजर, ग्लोब्स तथा बीएमडब्ल्यु मोटराडका एसेसरिज पाइनेछन् । त्यसैगरी दोस्रो अप्सन अन्तर्गत एजीभी हेल्मेट, फुल इन्स्योरेन्स र ३ वर्ष सम्मको अनलिमिटेड किलोमिटर अर्थात सर्भिसिङ उपलब्ध गराइने छ । यी बाइकका लागि सहज फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीले बताएको छ ।
भेस्पा र अप्रिलिया स्कुटर किन्दा छुट
भेस्पा र अप्रिलिया स्कुटर किन्दा ५ हजार नगद छुट पाइने छ । त्यसैगरी दुवै ब्रान्डमा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने दुई आर्थिक वर्षको सडक दस्तुर समेत निःशुल्क हुनेछ । एसेसरिज अन्तर्गत हेलमेट, कभर, फुटम्याट र किरिङ उपलब्ध हुनेछ । यी दुवै स्कुटरका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।
कायो डर्ट बाइक किन्दा ५० हजार छुट
कायोको डर्ट बाइक के ६ ईएफआई किन्दा ५० हजार छुट अफर ल्याएको छ । कम्पनीले एक जना लक्की उइनरले क्यास ब्याकको रुपमा १ लाख रुपैयाँ छुट पाउने छन् । नेपाली बजारका लागि कायोको आधिकारिक वितरक शुवानी इन्टरनेसनलले असार मसान्त सम्मका लागि सो अफर उपलब्ध गराएको छ । सो बाइकको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । छुट मूल्य उपलब्ध हुँदा सो बाइक ६ लाख रुपैयाँमै उपलब्ध हुनेछ ।
मोटरहेडको स्किम
मोटरहेडको एउटै बाइक किन्दा २० हजार रुपैयाँसम्म छुट र अन्य धेरै अफर योजना ल्याएको छ । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको छ । कम्पनीले आफ्नो ५ मोडल मध्ये तीन मोडलका बाइक किन्दा सिधै १५ हजार र अन्य दुई मोडलमा २० हजारसम्म छुटको व्यवस्था गरेको छ ।
यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बीमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने व्यवस्था गरेको छ । यो अफर असार १२ गते देखि नै लागु भएको छ । बजाज बाइक किन्दा १२ हजार छुट सहित ५० प्रतिशत डाउनपेमेन्ट बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले कुनै पनि बजाजका बाइक किन्दा पुरै नगद बुझाउँदा १२ हजार छुट दिने अफर ल्याएको छ । त्यसैगरी मूल्यको ५० प्रतिशत नगद बुझाउँदा बाँकी लाग्ने पैसामा शुन्य प्रतिशत ब्याज लाग्ने भएको छ । बजाजका बाइक किन्नका लागि २० प्रतिशत मात्र नगद बुझाएमा बाँकी पैसा किस्ताबन्दीमा तिर्न सकिने सुविधा समेत उपलब्ध भएको बताइएको छ ।
यामाहाको बाइक र स्कुटरमा १० हजार छुट
यामाहा बाइक तथा स्कुटर किन्दा अब विशेष अफर ल्याएको छ । नेपालमा यामाहाको बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले असहज परिस्थिति, सहज समाधान भनेर नयाँ स्किम ल्याएको छ । यस अन्तर्गत शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र १० हजार डिस्काउन्ट गरी तीन प्रकारको अफर उपलब्ध गराएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको स्किम छनोट गर्न सक्नेछन् । शुन्य प्रतिशत डाउनपेमेन्ट अन्तर्गत कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुलाई शुरुमा कुनै पैसा नतिरेरै बाइक वा स्कुटर उपलब्ध गराइनेछ । यस्ता ग्राहकका लागि १७ प्रतिशत ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया