काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाको पाँचौँ दिनको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । प्रधामन्त्री ओलीले तथ्यहिन अभिव्यक्ति दिएर देशको सार्वभौमसत्तामा असर पुर्याएकाले सत्ता चलाउने नैतिक आधार गुमेको भन्दै राजीनामा मागिएको हो । प्रधानमन्त्री केही दिन अगाडि आफूले नक्सा जारी गरेकाले भारतीय पक्षले प्रधानमन्त्रीबाट हटाउन चलखेल गरेको अभिव्यक्ति दिएका थिए ।
त्यस्तै लकडाउनका समयमा आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ । कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या जस्ता कारणले आत्महत्याका घटनाहरु बढेको अध्ययनले देखाएको छ ।
देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बुधबार अहिलेसम्मकै उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार आजमात्रै १४ सय ६२ जना निको भएका छन् । अहिलेसम्म देशभर ४ हजार ६ सय ५६ पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
त्यस्तैगरी मोबाइल क्रिप्टोकरेन्सी नेपालको परिवेशमा अवैधानिक भएको राष्ट्र बैंकले ठहर गरेको छ । पाइ नेटवर्ककामा जोडिएर आम्दानी गर्न भन्दै विभिन्न सामाजिक सञ्जाल तथा भिडियो सामाग्रीमा खुलेर प्रचार सुरु भएपछि राष्ट्र बैंकले यस्तो ठहर गरेको हो ।
लियोनल मेस्सीले आफ्नो फुटबल करियरमा ७ सय गोल पूरा गरेका छन् । ला लिगा अन्तर्गतको मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विरुद्ध पेनाल्टीबाट गोल गरेसँगै मेस्सीले ७ सय गोल पूरा गरेका हुन् । उक्त खेलमा मेस्सीले करियरको ७ सय गोलको लक्ष्य पूरा गरेपनि एट्लेटिको मड्रिडसँग बार्सिलोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न पुगेको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु समाचार हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया