अहिले बजारमा सकारात्मक सूचना प्रवाह आवश्यक छः अध्यक्ष ढकाल

अहिले बजारमा सकारात्मक सूचना प्रवाह आवश्यक छः अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको अहिलेको अवस्थामा बजारमा सकारात्मक प्रकारको सूचना प्रवाह गर्न आवश्यक भएको बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच राष्ट्रव्यापी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आयोजित हस्ताक्षर समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । नीतिगत स्थिरता नभएकाले व्यावसायिक कारोबार बढाउन नसकेको भन्दै यसको समाधानको लागि सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले भने, ‘अहिले जुन मन्दीको अवस्था छ, यो अवस्थामा बजारमा सकारात्मक प्रकारको सूचना दिनु आवश्यक छ । व्यावसायिक कारोबार बढाउन सकिएको छैन । नीति कति बेला के आउँछ थाहा छैन । स्थिर नीति नभएको कारणले एउटा त्रास छ ।’

यस्तै, उनले अर्थतन्त्र बिग्रिनुमा कुनै व्यक्ति तथा संस्थाको मात्रै दोष नभएको भन्दै सेयर बजारमा काम गर्ने व्यक्ति तथा संस्थालाई दोष दिएर यसको समाधान नहुने बताए ।
 
अध्यक्ष ढकालले भने, ‘घर जग्गाका कारण अर्थतन्त्र डुब्यो भन्नु भ्रम हो । अर्थतन्त्र बिग्रिएको दोष कुनै व्यक्ति तथा संस्थालाई दिनु हुँदैन । सेयर बजारमा काम गर्ने व्यक्ति तथा संस्थालाई दोष दिएर केही हुँदैन । बिग्रिनुमा सरकार, व्यवसायी, नियामक निकायको भूमिका बराबर छ ।’

उनले शेयर बजारमा नकारात्मक प्रकारको भाष्य तयार गरिएको भन्दै यसको समाधान गर्न र मन्दीबाट माथि उठ्न सबैजना समग्र रुपमा लाग्नु पर्नेमा जोड दिए ।

यस्तै, अध्यक्ष ढकालले महासंघअन्तर्गत ७७ जिल्लाकै व्यवसायी मिलेर छरिएर रहेका साना साना पुँजीहरुलाई संकलन गरेर ठूला आयोजना सञ्चालन गर्ने योजनामा रहेको पनि बताए । उनले भने, ‘हाम्रा ७७ जिल्लाका व्यवसायीहरु सम्मिलित भएर संयुक्त लगानीमा बृहत् कम्पनी दर्ता गर्ने र त्यसले छरिएर रहेका साना साना पुँजीहरुलाई संकलन गरी ठूला आयोजना सञ्चालन गर्ने योजना अघि बढाउन खोजेका छौं।’

Logo