काठमाडौं ।
सरकारले गरेको लकडाउनका कारण यतिबेला बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिन थालेको छ । लकडाउनको सुरुका दिनहरुमा बैंक निक्षेप निकाल्ने क्रम बढेको भएपनि बैंक तथा वित्तीय संस्थाहरु निर्वाधरुपमा खुलेपछि बैंकमा निक्षेप बढ्न थालेको हो ।
यस अवधिमा बैंकमा तरलता उल्लेख्य रुपमा बढेको देखिएको छ । सरकारले गरेको लकडाउनको करिब ३ महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब ५४ अर्ब रुपैयाँले बढेको देखिएको छ । सरकारले गत चैत ११ गतेबाट मुलुकैभरी लकडाउन गरेको छ । सो समयदेखि नयाँ कर्जा विस्तार नहुँदै बैंकमा तरलता थुप्रिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन मसान्तसम्म वाणिज्य बैंकहरु ३१ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असारको पहिलो सातासम्म आइपुग्दा ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको देखिएको छ । फागुनदेखि असारको पहिलो सातासम्म १ खर्ब ५४ अर्ब रुपैयाँले निक्षेप बढेको छ । बैंकर्स संघका अनुसार चैत मसान्तसम्म ३१ खर्ब ८९ अर्ब रुपैंयाँ, बैशाख मसान्तसम्म ३२ खर्ब १४ अर्ब रुपंैयाँ, जेठ मसान्तसम्म ३२ खर्ब ७६ अर्ब रुपंैयाँ र असार पहिलो सातासम्म ३२ खर्ब ९४ अर्ब रुपंैयाँ निक्षेप संकलन भएको छ । यो निक्षेप संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले संकलन गरेका हुन् ।
मुलुकमा लकडाउन भएपछि बैंक तथा वित्तीय सस्थाबाट प्रवाह हुने नयाँ कर्जा लगभग ठप्पै छ । लकडाउन हुनुभन्दा केही समय अघि तरलता(लगानी योग्य पूँजी) अभाव भएको भन्दै पुराना र सम्झौता भएका कर्जा मात्रै प्रवाह गरेका थिए । तरलताको अभाव भएको भन्दै ऋणको प्रशस्त माग आउँदा पनि नयाँ कर्जा प्रवाह नगरेका बैंकर्स अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रेको तथा लगानी गर्न नपाएको भन्दै चिन्तित छन् । त्यसो त नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक अवस्थाले पनि कर्जाको लगानी घटेको देखाएको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । गत वर्षको १० महिनाको तुलनामा यस आर्थिक वर्षको १० महिनामा ६ प्रतिशतले कर्जा लगानी घटेको देखिएको छ । राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । गत वर्षको १० महिनाको अवधीको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा बैंकको निक्षेप पनि घटेको छ । नयाँ कर्जा विस्तार नभएकाले अहिले बैंकसँग प्रशस्त तरलता भएको बैंकर्स अनिलकेशरी शाहले बताए ।
राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा करिब ६६ अर्ब रूपैयाँ अधिक तरलता छ । अहिले बजारमा ऋणको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता बढेको देखिएको छ । बैंकमा तरलता थुप्रिएसँगै बैंकहरुले गत वैशाखदेखि नै निक्षेपको ब्याजदर पनि घटाउन थालेका छन् ।































प्रतिक्रिया