अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिट्यान्स पठाउन सकिने

अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिट्यान्स पठाउन सकिने

केन्द्रबिन्दु
0
Shares

हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिट्यान्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिट्यान्स सेवा सोमबारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो ।

नेपाल रेमिट्यान्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा समेत सुरु गरिएको कम्पनीले जनाएको छ । ‘अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिट्यान्स सेवामा पहिलो तीन ओटा कारोबार निःशुल्क गरेका छौँ,’ हाम्रो पात्रो इंककी फिनटेक निर्देशक सुदीना गौतमले भनिन्, ‘यो अफर अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत तीन पटकसम्म रेमिट्यान्स पठाउँदा कुनै शुल्क लाग्दैन ।’

यससँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले झन्झटरहित रूपमा छिटो र छरितो ढङ्गले नेपालमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् । हाम्रो पात्रो एपभित्रैबाट यो रेमिट्यान्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले पूर्ण रूपमा डिजिटल तथा नगदरहित सेवाको रूपमा यो सेवा सुरु गरेको हो । 

हाम्रो पात्रोको एपमा जाने बित्तिकै त्यहाँ रेमिटेन्स अप्सन देख्न सकिन्छ । त्यसमा थिचेर ग्राहकले रजिस्टर गरी आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाईसी भेरिफाई (प्रमाणीकरण) गराउनु पर्ने हुन्छ । अकाउन्ट भेरिफाई गरेसँगै हाम्रो पात्रोको रेमिट्यान्स सेवा प्रयोग गर्न सकिन्छ । 

कम्पनीले क्रमशः अन्य देशहरूमा समेत आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने योजना बनाएको छ । त्यस अनुरूप आउँदो नयाँ वर्षसम्म हाम्रो पात्रोको रेमिट्यान्स सेवा जापानमा समेत सुरु हुने अपेक्षा गरिएको छ ।

Logo