स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट-रुकुम पश्चिमका भूकम्प पीडितलाई १ लाख अमेरिकी डलर (करिब १ करोड ३३ लाख रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ।
बैंकले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकाले आपतकालीन राहत उपलब्ध गराउन साझेदार बेलायती रेडक्रसलाई उक्त सहयोग गर्ने घोषणा गरेको हो।
उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पबाट घरबार गुमाएका र जाडो याम नजिकिएसँगै रोगको चपेटामा परेका परिवारलाई प्राथमिक उपचार र चिकित्सा सहायताका साथै खाद्यान्न, पानी, राहत सामग्रीलगायत आपतकालीन आश्रय सामग्री उपलब्ध गराउन सहयोग गर्ने बैंकको विश्वास छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःखी हुँदै पीडितको पक्षमा उभिएको बताए।
‘भूकम्पबाट भएको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ। पीडितको पक्षमा उभिएका छौँ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रुपमा हामी आवश्यकताको समयमा सकारात्मक परिवर्तनको शक्ति बन्न सक्ने बलियो स्थितिमा छौँ। हामी आशा गर्दछौँ कि हाम्रो सहयोगले राहत वितरणमा सहयोग गर्नेछ,’ उनले भने।
वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि स्ट्यान्डर्ड चार्टर्डले पीडित र तिनका परिवारलाई खाद्यान्न, आपतकालीन टेन्ट, स्लिपिङ ब्याग लगायत आपतकालीन राहत उपलब्ध गराउँदै आएकोछ। यस कार्यमा रेडक्रसलाई सहयोग पुर्याउन बैंकले आन्तरिक रुपमा पनि रकम संकलन गरिरहेको छ।































प्रतिक्रिया