काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणले यतिबेला विश्वलाई आक्रान्त बनाएको छ । यसले गर्दा विश्वका अधिकांश मुलुक लकडाउनमा रहेका छन् । कोरोनाको सङक्रमण रोकथाम तथा नियन्त्रणको लागि विश्व नै लकडाउन हुनाले आर्थिक क्षेत्र तहसनहस भएको छ । लकडाउनले उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रायः ठप्प रहेका छन् । यसरी सबै आर्थिक क्षेत्र ठप्प हुँदा विश्व अर्थतन्त्र नै धरापमा परेको छ । तर लकडाउनको केहि समयपछि विभिन्न मु्लुकले आर्थिक गतिविधि सञ्चालनमा ल्याएका छन् ।
नेपालमा पनि गत चैत ११ गते देखि सरकारले लकडाउन गरेको छ । यसरी जारी गरेको लकडाउनमा करिव तीन महिनासम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण गतिविधि बन्द रहेका थिए । तर, तीन महिनासम्म लकडाउन हुँदा व्यवसाय नै धरासायी भएको र सरकारले पनि व्यवसायीको लागि छुटै राहतको व्यवस्था नगरेको भन्दै व्यवसायीहरुले लकडाउनको मोडालिटी परिर्वतन गरेर बजार खुल्ला गर्नु पर्ने माग राखेका थिए । सरकारले व्यवसायीको माग सुनुवाइ नगरेकाले राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा लकडाउन भएको ७२ औं दिनमा नै काठमाडौंका असन, न्युरोड, दरबारमार्ग र ठमेलका व्यवसायिक स्थानका पसलहरु खुल्ला भएका थिए ।
यसरी व्यवसायीले सरकारको अनुमति विना व्यवसायी आफैले पसल खुल्ला गर्न थाले पछि सरकारले गत जेठ २८ गतेदेखि सम्पूर्ण उद्योग, व्यापार र सम्पूर्ण पसल खुल्न दिने निर्णय गरेको थियो । सरकारले लकडाउनलाई जारी राखेर नै सपिङमल बाहेकका सबै खाले बजार खुल्न अनुमति दिएसँगै उपत्यका लगायत देशभरीका मुख्य व्यापारीक केन्द्रका बजारहरु खुलेका छन् । तर, सरकारले व्यवसाय तथा पसलहरु खुल्न दिए पनि व्यापार भने नभएको व्यापारीहरुले बताउँन थालेका छन् । कोरोना पछिको लकडाउनले तीन महिनासम्म व्यापार व्यवसाय बन्द रहेका थिए । तर सरकारले पसल खोल्न दिएकाले व्यवसायीहरुले बिहानैदेखि पसल खोल्ने गरेका छन् । खाद्यान्न तथा किराना पसल बाहेकका पसलहरुमा बिहानदेखि बेलुकासम्म पनि बोहोनी नै नभएको व्यापारीहरुको भनाइ रहेको छ । लकडाउनकैबीच पसल खुल्ला भएकाले तथा कोरोना सङक्रमण पनि दिनप्रतिदिन बढ्दै गएकाले सधै भिडभाड हुने व्यापारिक क्षेत्रहरु न्युरोड, असन, महाबौद्ध, लगनखेल लगायतका क्षेत्रमा सर्वसाधारणको चहलपहल शून्य रहेको छ ।
बजार खुल्न थाले पनि उपत्यकाका व्यापारिक क्षेत्र न्युरोड, असन, ठमेल, दबारमार्ग, महाबौद्ध, लगनखेल, कोटेश्वर, नयाँ बसपार्क, पुरानो बसपार्क र चाबहिल लगायतका क्षेत्रमा सामान्य अवस्थामा उपत्यका र उपत्यका बाहिरका व्यापारी आएर भिडभाड हुने गरेका थिए तर यति बेला यी क्षेत्र पनि सुनसान जस्तै रहेका छन् । लकडाउनकै बेलामा मुलुकभर सबै प्रकारका व्यवसाय खुले पनि कारोबार भने शुन्य नै रहेको छ । यसरी व्यवसाय सञ्चालनमा आए पनि कारोबार नहुँदा अर्थतन्त्रमा समेत ठूलो असर पर्ने भएको छ ।
सरकारले पसल खोल्न दिए पनि आज भोलि पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको रन्जना मलका कपडा व्यवसायी गिरीराज खड्काले बताए । उनका अनुसार २८ गतेदेखि लगातार पसल खोलेर दिन भरी बसेको तर एक रुपैयाँ पनि बोहोनी नै नभइ पसल बन्द गर्नु परेको छ । उनले भने, ‘पसल खोल्नु र बन्द गर्नुमा केहि फरक छैन । अब केहि सहज हुन्छ कि भन्ने आशा गरेका छौंं ।’ त्यस्तै, महाबौद्धकी इलेक्ट्रिक व्यवसायी रिता श्रेष्ठले पसल खोलेर बसे पनि कारोबार भने नभएको बताएकी छिन् । बिहान आएर पसल खोले पनि व्यापार नै छैन भन्दै उनले कोरोना प्रभाव भन्दा पहिला गर्मीको समयमा फ्यान तथा एसीका सामान किन्न आउनेको भिड लाग्ने गरे पनि अहिले सार्वजनिक सवारी साधन सञ्चालन नभएकोले व्यापार हुन नसकेको बताएकी छिन् ।
‘लकडाउनले गर्दा मानिसहरुसँग भएको पैसा पनि सकिएको छ । अत्यावश्यक बाहेक सामान भन्दा अन्य सामान किन्ने अवस्था छैन । यति मात्रै नभएर पसलहरु खुले पनि सार्वजनिक सवारीसाधनहरु सञ्चालनमा नआउँदा मानिसहरु पसलसम्म आउने बातावरण छैन । अब सार्वजनिक यातायात सञ्चालनमा नआएसम्म कुनै पनि व्यापार खासै नहुने उनको भनाइ छ । तर, अहिले खाद्यान्न, किराना पसल, तरकारी पसल, फलफूल, मेडिकल पसलमा मानिसहरुको चाप देखिए पनि यी बाहेकका अन्य फेन्सी, इलेक्ट्रोनिक्स पसल, कपडा पसलमा मानिसहरु शुन्य रहेका छन् ।
राष्ट्रिय व्यवसायी महासंघका अनुसार न्युरोड, असन, महाबौद्ध क्षेत्रमा मासिक १५ हजारदेखि २० लाखसम्म भाडा तिर्ने व्यवसायी रहेका छन् । लकडाउन जारी रहने तर पसल सञ्चालन गर्न नपाउँदा व्यवसायीहरुलाई कर्मचारी तथा घर भाडाको भार थपिदै गएकाले तथा सरकारले लकडाउन जारी राख्दा राख्दै कर तिर्नसमेत बाध्य बनाएको भन्दै पसल खोल्नु परेको छ । तर पसल खोलियो ग्राहक भन्दा पहिला घरधनि भाडा माग्न आउन समेत थालेको व्यवसायीहरुको गुनासो रहेको छ ।































प्रतिक्रिया