डिशहोमद्वारा क्रिकेट खेलाडीहरुलाई पूर्वघोषित नगद पुरस्कार प्रदान

डिशहोमद्वारा क्रिकेट खेलाडीहरुलाई पूर्वघोषित नगद पुरस्कार प्रदान

केन्द्रबिन्दु
0
Shares

डिशहोमले नेपाली क्रिकेट टाेलीका खेलाडीहरुलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरेको छ । डिशहोमले आइतबार भैसेँपाटीस्थित आफ्नै मुख्य कार्यालय परिसरमा एक कार्यक्रमबीच टी–२० आई विश्वकप छनोटमा परेका क्रिकेट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए ।

२९ अक्टोवर, २०२३ देखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।

नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भइसकेकाे छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोभेम्बर, २०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

साे अवसरमा डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, "नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।" साथै अबका दिनमा क्यानसँग जोडिएर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

Skip This
Skip This
Logo