शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटा एक खर्ब बढी

शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटा एक खर्ब बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत वैशाख मसान्तसम्म मुलुकको चालु खाता एवं शोधनान्तर स्थिति रु एक खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा चालु खाता बचतमा रहेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६८ अर्ब २० करोड घाटामा थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म रु ६० करोड दुई लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा रु एक अर्ब एक करोडले बचतमा रहेको छ ।

बैंकका अनुसार चालु खाता घाटा रु एक खर्ब पाँच अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु दुई खर्ब २१ अर्ब ७७ करोड थियो । दश महिनाको अवधिमा पूँजीगत ट्रान्सफर रु १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १७ अर्ब ४२ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु नौ अर्ब ४७ करोड रहेको थियो ।

बैंकका अनुसार ०७६ असार मसान्तमा रु १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा ०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७६ असार मसान्तमा रु नौ खर्ब दुई २ अर्ब ४४ करोड रहेकोमा गत वैशाख मसान्तमा रु १० खर्ब ७५ अर्ब १९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७६ असार मसान्तमा रु एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा गत वैशाख मसान्तमा रु एक खर्ब ६० अर्ब सात करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।रासस

Logo