काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनपछि सोमबार अधिकांश कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । उक्त निर्णय पछि सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु आजदेखि पूर्ण रुपमा खुलेका छन् । कार्यालय सञ्चालनमा आए पनि सामाजिक दूरी कायम गर्नुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु गरिएको छ ।
त्यस्तै मनसुन भित्रिएसँगै देशभर धान रोपाइको चटारो सुरु भएको छ । तर यस पटकको रोपाइ अरु वर्षहरुको तुलनामा फरक हुने भएको छ । विगतका वर्षहरुमा कुनै मापदण्ड विना नै रोपाइ गरेका किसानले अहिले भने स्वास्थ्य सम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने भएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार साँझ तीन जनालाई पक्राउ गरेको हो ।
त्यस्तैगरी तत्कालीन समाजवादी पार्टीकी सांसद सरीता गिरीको सांसद पद निलम्बित हुने भएको छ । पार्टीको संसदीय दलको निर्देशन उल्लंघन गरेसँगै उनको सांसद पद निलम्बन हुने भएको हो । संसदीय दल सम्बन्धी कानुनी व्यवस्थामा संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गर्नेको पद खारेज हुने व्यवस्था छ ।
सरकारले लागू गरेको लकडाउनको ७६ औँ दिनपछि खुलेको सुनचाँदी बजारमा सुन किन्ने भन्दा बेच्नेको भीड लागेको छ । लकडाउनका कारण अस्तव्यस्त भएको जीवनमा दैनिक आवश्यकता पूरा गर्न सुन किन्ने भन्दा बेच्नेको संख्या बढेको हो । अहिले सुनचाँदी व्यवसायमा दैनिक १० प्रतिशत पनि कारोबार हुन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया