सरकारले माघे संक्रान्तिसम्म मेलम्चीको पानी काठमाडौँ उपत्यकाका उपभोक्ताको धारामा खसाल्ने योजना बनाएको छ। अबको दुई साताभित्र मेलम्ची आयोजनाको काम सम्पन्न गरेर काठमाडौँमा पानी खसालिने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।
आयोजनाको मुख्यस्थलमा भइरहेको कामका बारेमा स्थलगत निरीक्षण गर्न मन्त्रालयका सचिव आचार्यसहितको सरकारी टोली सिन्धुपाल्चोक पुगेको हो।
साढे महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी सरकारको छ। दुई वर्षअघिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाउने काम भइरहेको छ। यतिबेला रातदिन कर्मचारीहरु काममा खटिएका छन्।
सचिव आचार्यले ७० प्रतिशत काम सकिएको र अब दुई साताभित्र बाँकी काम सम्पन्न गरेर काठमाडौँका उपभोक्ताको धारामा पानी आउने दावी गरे। अहिले एकदमै गाह्रो काम भइरहेको छ, मेसिनबाट काम गर्न सकिने अवस्था छैन।
टनेलमा दुई जनाभन्दा बढि मान्छे जान मिल्दैन, त्यसैले बालुवा र माटो निकाल्न हामी दिनरात गरेर कामदार खटाएका छौँ, सचिव आचार्यले भने।
अस्थायी रुपमा काठमाडौँमा मेलम्चीको पानी आइरहेका बेला गत साउनको बाढीले हेड वर्क्सको संरचनामा ठूलो क्षति पुर्याएको थियो। करिव २० मिटर अग्लो गेग्रानले हेडवर्क्सको संरचना बिगारेकाे थियो। अहिले उक्त गेग्रान हटाउने काम अन्तिम चरणमा छ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनाको मुहानस्थलमा भइरहेको काम अबको दश दिनमा सम्पन्न हुने बताए। दुई साता अघि खानेपानी मन्त्री महेन्द्र यादव पनि आयोजना स्थल पुगेका थिए।





























प्रतिक्रिया