मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट बिजुली

मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट बिजुली

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् । 

नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताएका हुन् । उनले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने जानकारी दिए । 

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताए । उनले बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा अगाडि बढाउन नसकिने धारणा राखे । उनले अर्थतन्त्रको दबाव चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

“तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ”, ऊर्जामन्त्री बस्नेतले भने, “एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निरासाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।”

Logo