कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रुपमा बढेको छ।
अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ। झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो। तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो।
यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरु उत्साहित बनेका छन्। अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ।
ताप्लेजुङ, इलाम, पाँचथरलगायत पहाडी क्षेत्रमा उत्पादित अलैँचीलाई ग्रेडिङ गरेर मूल्य कायम गरिन्छ। ग्रेडिङपछि गुणस्तरका आधारमा त्यसको मूल्य केही कम बेसी हुने गरेको व्यवसायी बताउँछन्।
गत वर्ष अलैँचीको कारोबार प्रतिमन २५ हजार रुपैयाँबाट सुरु भएर ५९ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो।
उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी आवश्यक प्रक्रिया पुर्याएर भारततर्फ निकासी गरिन्छ।
अधिकांश अलैँची भारत निर्यात हुने गरेको छ भने पाकिस्तान र खाडी मुलुकहरुमा पनि नेपाली अलैँची जाने गरेको छ। केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ।
चालु आर्थिक वर्षको मंसिरसम्म झापाको मेची भन्सारबाट तीन अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
आर्थिक वर्ष ०८०–८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको तथ्यांक छ। उक्त परिमाणको अलैँचीबा तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको जनाइएको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ। आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो।
पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ। उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ।





























प्रतिक्रिया