काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकले इतिहासकै सबैभन्दा लामो समय बस्न थालेका छन् तर उनीहरूको दैनिक खर्च भने घट्दै गएको छ । सरकारी तथ्यांकले धेरै खर्च गर्ने पर्यटक आकर्षित गर्न नसकिएको यथार्थलाई उजागर गरेको छ।
सरकारी तथ्यांकअनुसार सन् २०२५ मा विदेशी पर्यटकको औसत बसाइ १६.३४ दिन पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो। तर उनीहरूको औसत दैनिक खर्च ३३.०९ अमेरिकी डलरमा सीमित रह्यो। यो इतिहासकै दोस्रो न्यून स्तर हो । दक्षिण एसियाली क्षेत्रमा पर्यटकको औसत दैनिक खर्च १००–१५० डलर छ ।
यो तथ्यांकले नेपालको पर्यटन क्षेत्रमा बढ्दो असन्तुलन देखाउँछ। पदयात्रा, हिमाल आरोहण र मनोरञ्जनात्मक भ्रमणका कारण पर्यटक लामो समय बस्न थाले पनि त्यसलाई उच्च पर्यटकीय आम्दानीमा रूपान्तरण गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ। पर्यटन मन्त्रालयका अनुसार सन् २००३ मा पर्यटकको दैनिक औसत खर्च ७९.१ डलरसम्म पुगेको थियो। त्यसयता खर्च लगातार घट्दै आएको छ।
इतिहासकै सबैभन्दा कम दैनिक खर्च सन् १९९६ मा ३१.९ डलर थियो। त्यतिबेला नेपालमा ३ लाख ९३ हजार ६१३ विदेशी पर्यटक आएका थिए। त्यही वर्ष तत्कालीन माओवादीले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने उद्देश्यसहित ‘सशस्त्र जनयुद्ध’ सुरु गरेको थियो। अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको माओवादी द्वन्द्वका क्रममा विभिन्न जिल्लामा रहेका प्रहरी चौकीमा आक्रमण गरिएको थियो ।
पर्यटन मन्त्रालयले सन् २०२५ देखि पर्यटकको बसाइ अवधि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीमार्फत गणना गर्न थालिएकोले तथ्यांक अझ विश्वसनीय बनेको जनाएको छ। मन्त्रालयका अनुसार पर्यटकले नेपालका प्राकृतिक र सांस्कृतिक गन्तव्य अवलोकनमा बढी समय खर्चिन थालेका छन्। पर्यटन सेवा सुधार र प्रवर्द्धन प्रभावकारी भएकाले बसाइ अवधि बढेको दाबी गरिएको छ।
सामान्यतः लामो बसाइलाई सकारात्मक मानिन्छ, किनकि त्यसले आवास, खाना, यातायात र विभिन्न गतिविधिमा बढी खर्च हुने अपेक्षा गरिन्छ। तर होटल व्यवसायीहरूका अनुसार त्यसअनुसार आर्थिक लाभ भने प्राप्त हुन सकिरहेको छैन। होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, ‘स्पष्ट रूपमा भन्नुपर्दा नेपालको हवाई र सडक यातायात सुरक्षित छैन। त्यसैले धनी पर्यटक नेपाल आउन हिच्किचाउँछन्। धेरै खर्च गर्ने पर्यटक ल्याउन सबैभन्दा पहिले यातायात क्षेत्र सुधार गर्नुपर्छ।’
उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय स्तरका लक्जरी होटल र रिसोर्ट भए पनि अन्तर्राष्ट्रिय गुणस्तर भेट्न नसक्दा सम्पन्न पर्यटकलाई यहाँ आउन रोकिरहेको छ। नेपाल डिसेम्बर २०१३ देखि युरोपेली आयोगको हवाई सुरक्षा ‘ब्ल्याकलिस्ट’मा परेको छ। यसका कारण नेपाली वायुसेवा कम्पनीहरूले युरोपमा उडान गर्न पाउँदैनन् र नेपालको हवाई सुरक्षालाई लिएर चासो कायमै छ।
सन् २०२५ मा नेपालमा १५ लाख हजार विदेशी पर्यटक आएका थिए। तीमध्ये ९१ प्रतिशत हवाई मार्गबाट आएका थिए भने १ लाख ४६ हजार ६३० जना स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए। लगातार तेस्रो वर्ष १० लाखभन्दा बढी पर्यटक आइरहे पनि सन् २०१९ को कोभिडताका अघिको स्तर अझै भेटिएको छैन।
पर्यटन व्यवसायीहरूका अनुसार बारम्बार हुने विमान दुर्घटना, कमजोर राजमार्ग तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको कमजोर प्रवर्द्धनले नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाइरहेको छ।
होटल व्यवसायीहरूका अनुसार विमान दुर्घटना, सडक सुरक्षाको कमजोरी, राजनीतिक अस्थिरता तथा गत वर्षको मुख्य पर्यटन मौसममा भएको ‘जेन-जी’ आन्दोलनले बुकिङ र पर्यटक खर्चमा नकारात्मक असर पारिरहेको छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार लक्जरी पर्यटनमा नेपालको ठूलो सम्भावना भए पनि प्राकृतिक विपद्, विमान दुर्घटना र राजनीतिक अस्थिरताले पर्यटकको विश्वास कमजोर बनाइरहेको छ। मध्यमस्तरका होटल भने अझै घरेलु पर्यटकमै बढी निर्भर छन्।
योगेन्द्र शाक्यका अनुसार विशेषगरी पदयात्रा र हिमाल आरोहणका लागि आउने भारतीय पर्यटकको संख्या बढेकाले औसत बसाइ अवधि लम्बिएको हो। तर भारतीय पर्यटकले नेपालमा गर्ने सम्पूर्ण खर्च औपचारिक बैंकिङ प्रणालीमार्फत हुनेमा भने अझै शंका रहेको उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले नेपाल विदेशीका लागि सस्तो गन्तव्य बनेको छ। यही कारण दैनिक खर्च घटेको देखिएको हुन सक्छ।
हाल नेपालमा २२२ वटा स्टारस्तरीय होटलसहित १६ सय होटल छन्, जसले करिब ६४ हजार ‘रुम–नाइट’ क्षमता प्रदान गर्छन्। सरकारको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४-२५ मा यात्रा सेवा नेपालको सबैभन्दा ठूलो सेवा निर्यात बनेको छ। यसबाट ८८ अर्ब ६६ करोड रुपैयाँ आम्दानी भएको छ, जुन कुल सेवा निर्यातको ३७.१५ प्रतिशत हो।


















