फिफा विश्वकप–२०२६ का रोमाञ्चक चार पक्ष

फिफा विश्वकप–२०२६ का रोमाञ्चक चार पक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २०२६ को फिफा विश्वकप सम्पन्न भइसकेको छ । १०४ खेलपछि स्पेन विश्व च्याम्पियन बनेको छ । विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजित यस प्रतियोगिताले धेरै नयाँ कीर्तिमान र रोचक कथाहरू जन्माएको छ । आगामी वर्षहरूमा यो विश्वकप मुख्यतः चार कारणले सम्झिइनेछ ।

गोलको वर्षा

४८ टोली सहभागी भएको विस्तारित विश्वकपमा कुल ३०८ गोल भए, जुन विश्वकप इतिहासकै सर्वाधिक बढी हो । यो कुनै पनि विश्वकपको तुलनामा १३६ गोल बढी भएका हुन् । प्रतिखेल औसत २.९६ गोल भएको यो प्रतियोगिता सन् १९७० यताकै सर्वाधिक गोल भएको विश्वकप बनेको छ ।

खेल सुरु हुनु पहिले विश्वकपको विषयमा निकै आशंकाहरू व्यक्त भएका थिए । पहिलो १५ मध्ये १० खेलमा दुई वा सोभन्दा कम गोल भएका थिए । तर,त्यसपछि चाहिँ गोलको वर्षा नै भयो । केही टोलीहरूबीच स्तरको ठूलो अन्तर भएकाले पनि गोल धेरै भए । जर्मनीले कुरासाओलाई ७–१, क्यानडाले कतारलाई ६–०, पोर्चुगलले उज्बेकिस्तानलाई ५–०, सेनेगलले इराकलाई ५–० र बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गरेको थियो ।

समूह चरणमात्र होइन, नकआउट चरणमा पनि गोलको संख्या घटेन । अन्तिम–१६ का तीन खेलमा पाँच–पाँच गोल भए भने क्वार्टरफाइनलका चार खेलमा १२ गोल भए । तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकप इतिहासकै पहिलो ६–४ नतिजा दिएको थियो ।

इतिहासकै रोमाञ्चक गोल्डेन बुट प्रतिस्पर्धा

२०२६ को विश्वकपलाई गोल्डेन बुटको प्रतिस्पर्धाका कारण पनि लामो समयसम्म सम्झिइनेछ । विश्व फुटबलका उत्कृष्ट गोलकर्ताहरू एकैपटक उत्कृष्ट लयमा देखिए ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगिताको सुरुआत गरेका थिए । त्यसपछि ह्यारी केन, किलियन एम्बाप्पे र एर्लिङ हालान्डले पनि पहिलो खेलमै दुई–दुई गोल गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाउन मैदानमा देखिए ।

मेसीले लगातार पाँच खेलमा गोल गर्दै आठ गोल पु‍र्‍याए पनि अन्तिम तीन खेलमा गोल गर्न सकेनन् । त्यसले अन्य खेलाडीलाई अवसर दिया । इंग्ल्यान्डका जुड बेलिंघमले सात गोलसहित प्रतियोगिता टुंग्याउँदा हालान्डले पनि सात गोल गरे ।

फ्रान्सका किलियन एम्बाप्पेले तेस्रो स्थानको खेलमा दुई गोल थप्दै प्रतियोगितामा कुल १० गोल गरे । र, एकै संस्करणको विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने इतिहासका चौथो खेलाडी बने । अन्ततः एम्बाप्पेले गोल्डेन बुट जिते ।

विश्वकपको विस्तारित स्वरूपका कारण कसैले सन् १९५८ मा जस्ट फन्टेनले बनाएको १३ गोलको कीर्तिमान चुनौती दिने अपेक्षा गरिएको थियो । यद्यपि, त्यो कीर्तिमान भने अझै सुरक्षित रह्यो ।

पेनाल्टीको दुःस्वप्न

गोल धेरै भए पनि पेनाल्टी भने खेलाडीहरूका लागि ठूलो चुनौती बन्यो । प्रतियोगिताभर नियमित समय र पेनाल्टी सुटआउट गरी कुल ६२ पेनाल्टी प्रहार हुँदा केवल ४१ मात्र गोलमा परिणत भए । अर्थात्, सफलता दर केवल ६६.१ प्रतिशत रह्यो, जुन सन् १९६६ यताकै सबैभन्दा कमजोर हो ।

धेरै स्टार खेलाडीले पेनाल्टी गुमाए । लियोनेल मेसीले प्रहार गरेका दुवै पेनाल्टी गोल गर्न सकेनन् । किलियन एम्बाप्पेको एक पेनाल्टी गोलरक्षकले बचाए । काइ हाभट्र्ज, अचरफ हाकिमी, जस्टिन क्लाइभर्ट र ब्रुनो गुइमाराइसले पनि पेनाल्टी चुकाए ।

ह्यारी केन र ग्रानिट झाकाले मात्र एकभन्दा बढी पेनाल्टी सफलतापूर्वक गोल गरे । रोचक कुरा के भने केनले क्रोएसियाविरुद्ध पहिलो प्रयासमा गोल गर्न सकेका थिएनन् । विपक्षी खेलाडीले नियम उल्लंघन गरेकाले पुनः प्रहारको अवसर पाएपछि मात्र गोल गरेका थिए ।

विश्वकपको दबाबले खेलाडीहरूको प्रदर्शनमा कति प्रभाव पार्छ भन्ने कुरा यो विश्वकपको पेनाल्टी तथ्यांकले स्पष्ट देखाएको छ ।

अनुभवी खेलाडीहरूको स्वर्णिम विश्वकप

२०२६ को विश्वकपलाई ‘गोल्डेन ओल्डिज’ अर्थात् अनुभवी खेलाडीहरूको विश्वकप पनि भन्न सकिन्छ । ४० वर्ष वा सोभन्दा माथिका सात खेलाडीले प्रतियोगितामा सहभागिता जनाए, जुन विश्वकप इतिहासकै सर्वाधिक हो ।

क्रिस्टियानो रोनाल्डो, गिलेर्मो ओचोआ, लुका मोड्रिच र एडिन जेको विश्वकप इतिहासका सबैभन्दा बढी उमेरका खेलाडीहरूको सूचीमा थपिए । त्यस्तै, म्यानुएल नोयर, भोजिन्हा र फर्नान्डो मुस्लेराले पनि ४० वर्ष पार गरिसकेपछि विश्वकप खेले ।

गोलकर्ताको सूचीमा पनि नयाँ कीर्तिमान बने । रोनाल्डो, मेसी, इभान पेरिसिच र मार्को अर्नाउटोभिचले विश्वकप इतिहासका सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीहरूको सूचीमा स्थान बनाए ।

३९ वर्षका मेसीले विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले । साथै, प्रतियोगिताको दोस्रो उत्कृष्ट खेलाडी (सिल्भर बल) घोषित भए । उत्कृष्ट खेलाडीको पुरस्कार भने स्पेनका रोड्रीले जिते ।

खेल विज्ञान, पोषण र प्रशिक्षणमा आएको विकासका कारण खेलाडीहरू लामो समयसम्म उच्चस्तरमा खेल्न सक्षम भएको यो विश्वकपले देखाएको छ । प्रारम्भिक रोजाइका टोलीहरूको औसत उमेर पनि सन् १९६६ यताकै सबैभन्दा बढी रह्यो ।

Logo