नेपालमा आफ्ना गाडीको बिक्री बढेसँगै पूर्वाधार थप्दै आएको चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बीवाइडीले ललितपुरको पुल्चोकमा शोरुम खोलेको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बुधबारबाट सञ्चालनमा ल्याएकाे शोरुमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।
साे अवसरमा महानगर प्रमुख महर्जनले विद्युतीय गाडी प्रवर्धनका लागि ललितपुर महानगर सधैं लागेको बताउँदै विकास निर्माणका लागि प्रयोग हुने ठूला सवारीसाधन बाहेक अन्य गाडीहरु विद्युतीय मात्र प्रयोग गर्ने गरेको बताए । बीवाइडीका विद्युतीय गाडीहरुले वायु प्रदूषणमा कमी ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै निजी कम्पनीसँग सहकार्यका लागि महानगर तयार रहेको उनको भनाइ थियो ।
उनले भने, ‘विकास निर्माणका लागि प्रयोग हुने टिप्पर, ट्रकहरुमा डिजल–पेट्रोल चाहिन्छ नै । यसको विकल्प पनि छैन । तर, अन्य प्रायोजनका लागि विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेका छौं ।’
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडीले ईभीका गाडीको बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताइन् । ‘बीवाईडीको शोरुम देशका मेजर सिटीहरूमा सञ्चालनमा आइसकेका छन्, उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने छ, आगामी दिनमा पनि शोरुमको विस्तार गर्दै जाने छौं,’ उनले भनिन् ।
साे अवसरमा विद्युतीय सवारी उत्पादनमा अग्रणी बीवाइडीको भर्खरै नेपाली बजारमा आएको नयाँ कार डल्फिन कारसमेत शोरुममा सार्वजनिक गरिएको छ । बीवाइडीको ४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ । यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरिएको छ ।































प्रतिक्रिया