निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको काम ६१ प्रतिशत सम्पन्न

निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको काम ६१ प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ६१ प्रतिशत काम सम्पन्न भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा पनि आयोजनाको पूर्वी नहर निर्माणको काम निरन्तर भइरहेको आयोजना प्रमुख लोकबहादुर थापाले जानकारी दिए ।

“पश्चिम मुख्य नहर अन्तर्गत सात वटा शाखा नहरमध्ये सिधनिया शाखा नहरको ९० प्रतिशत काम पूरा भएको छ भने डुडुवा शाखाको पुरानो नहरलाई जीर्णद्वार गर्ने काम भइरहेको छ”, आयोजना प्रमुख थापाले भने, “चारवटा शाखा नहरमा पाँच किलोमिटरसम्मको काम भइरहेको छ, नौ हजार हेक्टर सिँचाइ गर्ने गुरुगाउँ शाखाको बोलपत्र प्रक्रिया अघि बढेको छ ।”

सिक्टा सिँचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ ।

आयोजनाको मूल नहर निर्माणको काम अझै सकिएको छैन भने शाखा र उपशाखा नहर निर्माणको काम सुस्त छ । बन्दाबन्दी अघिसम्म लक्ष्यको शतप्रतिशत काम हुँदै आए पनि अहिले लक्ष्यको ५० प्रतिशतमात्रै काम गर्न सकिएको आयोजना प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार, आयोजनाको ६१ प्रतिशत काम सम्पन्न हुँदा हालसम्म रु १५ अर्ब खर्च भइसकेको छ । चालु आर्थिक वर्षको लागि आयोजनालाई छुट्टाइएको करिब रु एक अर्ब बजेटमा रु ६० करोड बढी खर्च भइसकेको छ । आगामी आर्थिक वर्षको लागि करिब रु डेढ अर्ब बजेट विनियोजन भएको छ ।

सिक्टा सिँचाइ आयोजनाको कूल बजेट रु २५ अर्ब रहेकोमा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्य मुख्य सञ्जाल बनिसक्ने आयोजना प्रमुख थापाको भनाइ छ ।

बाँकेमा ३५ हजार ९७० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् ।रासस

Logo