काठमाडौं ।
उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गते देखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर हिजो क्याबिनेट बसेर हामीले सबै न्युजहरुमा सुन्न पायौं कि अब सबै उद्योग व्यवसाय केही बाहेक सबै व्यवसाय पनि चल्ने, जोर बिजोर गरी गाडि पनि चल्ने, हामीले त ११ देखि साढे पाँच भनेका थियौं तर सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी सरकारको निर्णयको प्रशंसा गर्दै स्वागत पनि गर्छौं ।’
अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन निर्णय गरे जसरी नै उद्योगी व्यवसायीलाई कर, बैंकको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझ बढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास व्यक्त गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट उद्योगी व्यवसायीका समस्या सम्बोधन हुनेमा आफु विश्वस्त रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमण्को रोकथामका लागि रेड जोन, यल्लो जोन र ग्रिन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनु पर्ने बताए । उनले सरकारले पछिल्लो पटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताए ।
लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूर्णरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताए । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने बताए । उनले अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरुलाई पनि चलाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।































प्रतिक्रिया