‘आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ’ : खानेपानी मन्त्री मगर

‘आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ’ : खानेपानी मन्त्री मगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउने बताइन् । उनले आगामी आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन् ।

दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने उनले बताइन् । उनले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताइन् ।

तराई क्षेत्र खासगरी प्रदेश नम्बर २ मा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दीर्घकालिन योजनासहित अगाडि बढेको मन्त्री मगरले बताइन् । वास प्लान अनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दीर्घकालिन रुपमा मेचीदेखि महाकाली सम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डिपिआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको जानकारी दिइन् । यस्तै देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने उनले बताइन् ।

यस्तै आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको उनले बताइन् । उनले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास समेत व्यक्त गरिन् ।

Logo