काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग शुक्रबार उद्योगी व्यवसायीले बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्स लगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताए । उनले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने बताए ।
उनले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्ला अनुसार मोडालिटी फरक हुने बताए । मन्त्री भट्टले प्रदेश नं २, कर्णाली र सूदुरपश्चिम प्रदेशमा भारतबाट आएका सङ्क्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गरे । कोभिड–१९ का कारणले मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताए ।रासस





























प्रतिक्रिया