यातायात मजदूरको कोभिड-१९ परीक्षण गर्न माग

यातायात मजदूरको कोभिड-१९ परीक्षण गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल यातायात मजदूर सङ्घले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका मजदूरलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ मा देशभर बन्दाबन्दी भएको अवस्थामा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदूरको सूरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदूरलाई कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ”, उनले भने । सङ्घले अत्यावश्यक सेवामा कार्यरत यातायात मजदूरलाई कोरोना सङ्क्रमण हुने वित्तिकै पाउने गरी सरकारबाट रु दुई लाखको बीमा गर्ने व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष भण्डारीले यातायात मजदूरको कार्यस्थलमा मृत्यु भएको खण्डमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने बताए । सरकारले सबैखाले स्वास्थ्य तथा सुरक्षाको उपायका बारेमा कार्ययोजना तथा प्रक्रिया निर्माणको क्रममा मजदूरसँग परामर्श तथा सहभागिता सुनिश्चितता गर्नुपर्ने बताएको छ ।

सङ्घले मुलुकको यस विषम परिस्थितिमा यातायात मन्त्रालयको समन्वयनमा यातायात व्यवसायी, यातायात क्षेत्रको ट्रेड युनियन लगायतको सहभागितामा सङ्घीयस्तरमा तथा प्रदेशमा प्रदेशस्तरीय समिति गठन गर्न मागसमेत गरेको छ ।रासस

Logo