‘निर्माण सामाग्रीको मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको छ’ : मोहन कटुवाल, अध्यक्ष (ग्रील तथा स्टिल व्यवसायी महासंघ)

‘निर्माण सामाग्रीको मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको छ’ : मोहन कटुवाल, अध्यक्ष (ग्रील तथा स्टिल व्यवसायी महासंघ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्माणको सिजन सुरु भएसँगै निर्माण सामाग्रीको मूल्य अप्रत्यासितरुपमा बढ्न थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट मुलुकभर करिव ८ महिनासम्म लगाएको लकडाउन गर्दा ठूला विकास निर्माणका आयोजनादेखि व्यतिगत घर निर्माणका काम समेत ठप्प थिए । तर पछिल्ला केही महिनादेखि बजार, यातायात सञ्चालनमा सहज भएको छ ।

यसरी सबै क्षेत्र सहज हुँदै गएपछि विकास निर्माणका कामले पनि गति लिन थालेका छन् । तर विकास निर्माणले गति लिए पनि निर्माण सिजनमा नै सामाग्रीको मूल्य बढेकाले उपभोक्ता तथा सरकारी आयोजनाहरुको निर्माण लागत समेत बढ्ने देखिएको छ । फलामे छड उत्पादन गर्ने उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढेको बताउँदै आएका छन् । यता स्टिल तथा छड व्यवसायीहरु मूल्यबृद्धिको कारण मारमा परेको बताउन थालेका छन् । सिजनमा नै किन छड तथा निर्माण सामाग्रीको मूल्य अत्याधिक रुपमा बढ्यो भन्ने सन्दर्भमा ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालसँग केन्द्रविन्दुकर्मी अनिस मिजारले गरेको छोटो कुराकानीः

१.विकास निर्माणको सिजनमा नै निर्माण सामाग्रीको मूल्य किन बढी रहेको छ ?

कोरोना महामारीको प्रभावले हार्डवयर तथा ग्रिल व्यवसाय थला परेको अवस्थामा छड उद्योगीहरुले सोचेको भन्दा पनि धेरै मूल्य बढाएका छन् । अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा नै छड बनाउने कच्चा पदार्थहरुको मूल्यबृद्धि भएकाले नेपालमा त्यसको प्रभाव परेको बताउने गरेका छन् । तर उद्योगीहरुले यस्तो बताए पनि व्यावसायीले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नभएर मनपरी ढङ्गले आफूखुसी मूल्यबृद्धि गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै नेपालका उद्योगीहरूले मौज्दातमा रहेको सामाग्रीलाई नै मूल्य बढाएर बिक्री गरेका छन् । जुन मूल्यमा कच्चा पदार्थमा आयात गरेको छ त्यही अनुरुपमा मूल्य बढाउनु पर्ने हो तर सो अनुरुप भएको छैन ।

२.तपाईंहरुको अनुमानमा छडमा विगतको भन्दा कति प्रतिशतले मूल्यबृद्धि बढेको छ ?

विगतका वर्षहरुमा मूल्यबृद्धि भएका घटनाका आधारमा नै अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धि भएको अनुपातमा नेपालमा मूल्यबृद्धि भएको छैन । अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशत बढेको छ । तर नेपालमा उद्यागीहरुले ३० देखि ४० प्रतिशत बढाइएकाे छ । उद्योगीहरुले कच्चा पदार्थ विलेटको लागि एलसी खोलेर सम्झौता गर्दा सामान फ्याक्ट्रीसम्म आएर तयार हुँदासम्म एक दुई महिनाको समय लाग्ने गर्दछ । तर अहिले हरेक दिन जसो छड लगायत ग्रिल तथा स्टिलको मूल्यबृद्धि भइरहेको छ । पछिल्लो समय ५० देखि ६० प्रतिशतसम्म मूल्यबृद्धि भएको छ ।

३.मूल्यबृद्धि हुँदा उपभोक्तालाई ठूलो मार परेको छ । यसले साना व्यवसायीलाई कस्तो प्रभाव पर्छ ?

निर्माणको सिजनमा नै लगातार रुपमा छड लगायतका निर्माण सामाग्रीको मूल्यबृद्धि हुँदा साना तथा धरेलु ग्रिल तथा स्टिल व्यवसायीहरुको व्यवसाय नै धरासायी बन्दै जाने देखिएको छ । मूल्यबृद्धिको प्रभावले मुलुकभरका ११ हजार व्यवसायी तथा १ लाख ६० हजार कर्मचारी र यसमा आश्रित १५ लाख व्यक्तिहरुमा समेत प्रभाव पर्नेछ । छड लगायत निर्माण सामाग्रीको लगातार रुपमा मूल्यबृद्धि भएकाले व्यवसाय नै बन्द हुने अवस्थामा पुग्ने देखिन्छ । कोरोना महामारीको प्रभावले थला परेको व्यवसाय ग्रिल तथा स्टिलहरुको मूल्यबृद्धि भएकाले अझ बढी प्रभावित भएको हो । कोरोनाका कारण ९ महिना उद्योग बन्द थिए । अहिले बल्ल शुरु भएका छन् । तर, अत्यधिक मूल्यवृद्धिले गर्दा काम ठप्प भएको छ । त्यति मात्रै नभई कर्मचारी, बैंकको ऋण र घरभाडा कसरी तिर्ने भन्ने बढी पिरोल्न थालेको छ ।

४.मूल्यबृद्धि नियन्त्रणका लागि महासंघले कस्तो भूमिका खेलिरहेको छ ?

छड लगायत निर्माण सामाग्रीको मूल्यबृद्धि भएपछि ग्रील तथा स्टिल व्यवसायी महासंघले मूल्यबृद्धि नियन्त्रण गर्नका लागि पत्राचार गरेको छ । पत्रमार्फत महासंघले अहिलेको अवस्थामा मूल्यबृद्धि हुनुको वास्तविक कारणको अनुगमन गर्न माग समेत गरेको छ । तर अहिलेसम्म पनि सरकारबाट अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र नेपालमा कुन अनुपातमा बढेको भन्ने अनुगमन भएको छैन । महासंघले ठूला उद्योगीहरुसँग किन लगातार रुपमा छडको मूल्य बढेको र कहिलेसम्म बढ्दै जान्छ तथा घटाउन सकिने वा नसकिने भन्ने विषयमा छलफल गरेको छ । यसरी मूल्यबृद्धि हुनुमा ठूला उद्योगीहरु, नियमनकारी निकाय तथा उपभोक्ता अधिकारकर्मीहरुको समेत मिलेमतो रहेको देखिन्न्छ । सरकारले यस विषयमा कुनै अनुगमनसमेत गर्न नसक्दा उपभोक्ता र साना व्यवसायी मारमा परेका छन् ।

५. बजारमा मूल्यबृद्धिसँगै विभिन्न कम्पनीका गुणस्तरहिन सामाग्री पनि आएका छन् । यसलाई कसरी लिनु भएको छ ?

अहिले बजारमा मूल्यबृद्धि मात्र होइन, विभिन्न कम्पनीका सामान गुणस्तरहिन समेत आउन लागेको सत्य हो । उद्योगी व्यवसायीहरुले कृतिम अभाव गराउने उद्देश्यले मूल्यबृद्धि गरेका छन् भने कृतिम अभाव देखाएर व्यापारीहरुलाई गुणस्तरहिन, टुटेका, भाँचिएका सामाग्री किन्न बाध्य पार्ने गरेका छन् । उद्योगीहरुले छड बनाउनको लागि चाहिने कच्चा पदार्थको अनुपात घटाएर उपभोक्ता ठग्नु हुँदैन । सरकारले यस्ता व्यवसायीलाई कारबाही गर्नै पर्छ ।

Logo