‘सिसडोलमा फोहोर विसर्जनमा अवरोध गरे बल प्रयोग गर्छौं’ : प्रमुख जिल्ला अधिकारी

‘सिसडोलमा फोहोर विसर्जनमा अवरोध गरे बल प्रयोग गर्छौं’ : प्रमुख जिल्ला अधिकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहानामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।

‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भइरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भने, ‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको सूचना जारी गरेको छ । फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन् । तर, सवारी आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ ।’

लकडाउनको समेत वेवास्ता गर्दै विभिन्न जिल्लाबाट हुने आवतजावतले उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेर अशान्त बनिरहेका बेला उक्त कार्यले थप समस्या भएको श्रेष्ठको भनाई छ ।

वातावरण विभाग प्रमुख श्रेष्ठले कुनै माग भए महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमै अवरोध गर्ने कुरा उचित नभएको बताए । ‘तर, विभिन्न बाहानामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन’, श्रेष्ठले भने, ‘जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुःखद् हो । त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ ।’ उनले त्यहाँका जनप्रतिनिधि र स्थानीयलाई छलफलका लागि बोलाएको पनि जानकारी दिए ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि विभिन्न बाहानामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताएका छन् । ‘ककनी गाउँपालिकाले विज्ञप्ति नै निकालेर सवारी आवत–जावतमा रोक लगाई सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने , ‘विभिन्न बाहानामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन । मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु । उनीहरुका माग के–के हुन् । व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ । तर, फोहोर नै रोक्ने कुरा हुँदैन ।’ दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फोहोर विसर्जन गर्ने बताए ।

दाहालले फोहोर व्यवस्थापन अत्यावश्यक सेवा भित्र पर्ने भएकाले रोक्न नमिल्ने जानकारी गराएको पनि बताए । ‘पहिलो कुरा फोहोर विसर्जनमा अवरोध गर्न मिल्दैन । स्थानीयका माग सम्वोधन गर्ने कुरामा महानगरपालिका प्रतिवद्ध छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग पनि पटक–पटक कुरा हुँदा उहाँ पनि सकारात्मक रहेको जानकारी पाएको छु । हामी पनि उहाँहरुको माग सम्वोधनका लागि पहल गर्छौं,’ उनले भने, ‘यति हुँदाहुँदै उहाँहरु फोहोर विसर्जनमै अवरोध गर्ने भन्नुहुन्छ भने बल प्रयोग गरे भए पनि फोहोर विसर्जनको प्रक्रिया अघि बढ्छ ।’

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यो उत्पादित फोहोर विसर्जन नहुने हो भने काठमाडौँ महानगरसहित अन्य नगरपालिका पनि दुर्घन्धित हुने र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिए।

Logo