काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा जेठ २ गते सङ्घीय संसदमा प्रस्तुत २०७७/७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ ।
काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोसा पनि दिलाउन नसकेको निष्कर्ष निकाल्दै संशोधन पेश गर्ने निर्णय गरेको हो । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको बैठकले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथाम, न्यूनीकरण र सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्नुपर्ने निर्णय गरेको छ ।
संसदीय दलले कोराना महामारीका कारणले लकडाउनपछिको अवस्थामा लाखौं मजदूर तथा श्रमिक, किसान, अध्ययनको सिलसिलमा घरभन्दा टाढा रहेका विद्यार्थी, अन्य रोगबाट ग्रसित बिरामी एवं दीर्घरोगी, शारीरिक अशक्त तथा असहाय व्यक्तिले कारुणिक पीडा झेल्नु परिरहेको भन्दै उनीहरुको जीवनयापनका लागि समोचित राहत प्याकेजको कार्यक्रम ल्याई तत्काल राहत पुर्याउन सरकारसँग माग गरेको छ ।
बैठकमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय दलले हालसम्म कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण, नियन्त्रण तथा उपचार र यस प्रकोपका कारण पीडित रहेका विपन्न परिवारलाई राहत तथा अन्य समस्याका विषयमा सरकारलाई समयसमयमा सचेत गराइरहेकोबारे जानकारी गराएका थिए । कोरोनाका कारण विश्वभर अप्ठ्यारोमा परी स्वदेश आउन चाहने नेपालीलाई स्वास्थ्य मापदण्ड अनुसारको उचित क्वारेन्टाइनमा राखी परीक्षण गर्दै सङ्क्रमितलाई उपचारको व्यवस्था र स्वस्थ व्यक्तिलाई आफ्नो घर पुर्याउन यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक खाँणले बताए ।
महामारीबाट आक्रान्त नागरिकले भोलि भोकमरीको सामना गर्ने अवस्था नहोस् भनेर कृषि क्षेत्रमा ठूलो लगानी अभिवृद्धि गर्न, तत्काल कृषकका लागि बीउबिजन एवं मलको उचित व्यवस्थापन, वर्षायाममा हरेक वर्ष प्राकृतिक विपत्तिबाट हुने जनधनको नोक्सानप्रति समयमै सजग भइ अविलम्ब ठोस कदम चाल्न पनि बैठकले सरकारसँग माग गरेको छ । बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमिको अतिक्रमणको विरोध गर्दै आफ्नो भूमिको रक्षाका लागि सरकार आवश्यकता अनुसार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको टिप्पणी गर्दै अविलम्ब ठोस कूटनीतिक प्रयास गरी नेपालको भूमिको रक्षा गर्नका लागि सरकारलाई गम्भीर बन्न बैठकले माग गरेको उनले बताए ।
बैठकमा डा मीनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, ज्ञानेन्द्रहादुर कार्की, भरतकुमार शाह, सञ्जयकुमार गौतम, देवप्रसाद तिमिल्सिना, दिलेन्द्रप्रसाद बडू, रामबहादुर विष्ट, उमा रेग्मी, पार्वता डिसी चौधरी, मीनबहादुर विश्वकर्मा, दिव्यमणि राजभण्डारी, देवन्द्रराज कँडेल, राजेन्द्रकुमार केसी, डा डिला सङ्ग्रौला, प्रदीप गिरी, सीताराम महतो लगायतका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम, सीमा अतिक्रमण, कोरोनाको सङ्कटलगायतका समसामयिक विषयमा आआफ्नो धारणा राखेका थिए ।
प्रदेशसभा सदस्य श्रेष्ठलाई ‘हिरो अवार्ड’बाट सम्मान गरिने
काठमाडौँ क्षेत्र नं १ (क) बाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठलाई ‘हिरो अवार्ड’ बाट सम्मान गरिने भएको छ ।
अमेरिकामा क्रियाशील ‘हामी ग्लोबल नेपाली’ नामक संस्थाले प्रदेशसभा सदस्य भई काम गर्दा श्रेष्ठले राज्यकातर्फबाट पाउने तलब, भत्ता लगायत सुविधा सामाजिक काममा लगाएको भन्दै सम्मान गर्न लागिएको हो । संस्थाका अध्यक्ष अमृत लामाले प्रदेशसभा सदस्य श्रेष्ठलाई सामाजिक काममा अझै दृढतासाथ लाग्ने कामनाका साथ सम्मान गर्न लागिएको सार्वजनिक गरे ।
सम्मानको घोषणा भएपछि कुरा गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले सम्मानले जिम्मेवारी बढाएको उल्लेख गर्दै आफ्नो काँधमा कर्तव्य थपिएको बताए । थप भएको जिम्मेवारीलाई कुशलतासाथ निर्वाह गर्ने प्रतिबद्धता पनि उनको थियो । संस्थाले कोरोनाको सङ्क्रमण अन्त्य भएपछि अमेरिकामा आयोजना हुने कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठलाई सम्मान गर्ने जनाइएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । रासस





























प्रतिक्रिया