राष्ट्र बैंकले प्रदान गरेको २ प्रतिशत ब्याज छुटमा एनआईसी एशियाको थप १० प्रतिशत छुट

राष्ट्र बैंकले प्रदान गरेको २ प्रतिशत ब्याज छुटमा एनआईसी एशियाको थप १० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको ०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशतले कम गर्न पत्र संख्या बैं.वि.नि.नि/नीति/सूचना/२१/०७६/७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट ऋणीहरुको ०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै ०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण सकिने समेत उक्त निर्देशनमा उल्लेख छ ।

तर माथि उल्लेख गरिएको छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु लगायत क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि पनि ०७६ चैत्र १६ गतेको पत्र संख्या बैं.वि.नि.वि/नीति/सूचना/१८/०७६/७७ मार्फत निर्देशन जारी गर्दै ०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जस अनुसार ऋणीहरुले चैत्र मसान्त सम्ममा चुक्ता भुक्तान गर्नु पर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफू एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहक महानुभावहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्राथामिकताको रुपमा लिएको छ ।

एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकको ०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी ०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको ग्राहकहरुको खातामा जम्मा गरिसकेको छ । साथै बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम ०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जना तथा पेनल ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजनासमेत ग्राहकहरुलाई लागू गरेको छ ।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस बैंकले गरेको हो । तसर्थ ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै यस बैंकको बैंकिङ्ग इतिहासमै दुर्लभ उपलब्ध हुने उपरोक्त उल्लेखित छुटमार्फत थप १० प्रतिशतको साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउन सबै ग्राहकवर्गमा बैंकले अनुरोध गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले ०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

Logo