काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनासम्ममा देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोड बचत भएको छ भने चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ ।
चालु आर्थिक चौथो महिनामा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधनान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्चदरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासँगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैंयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने वैदेशिक लगानीमा ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।





























प्रतिक्रिया