दार्चुला ।
जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्ने मौसम शुरु हुँदैछ । वैशाख दोस्रो साताबाट स्थानीय यार्सागुम्बा सङ्कलनका लागि लेक उक्लिन चाँजोपाजो मिलाउन शुरु गर्ने गर्छन् । तर यार्सागुम्बा सङ्कलनका लागि चाजोपाँजो मिलाउने बेला यो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण यार्सागुम्बा टिप्न अनिश्चित भएको छ ।
सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले यो वर्ष लकडाउनका कारण यार्सागुम्बा सङ्कलनका लागि अनुमति तथा सहमति नदिने निर्णय गरेसँगै यार्सागुम्बा सङ्कलन यो वर्ष अनिश्चित भएको हो । प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहमा यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि अनुमति र सहमति नदिने निर्णय गरेको बताइएको छ ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलनका लागि लकडाउन अवधिभर अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र सरोकारवाला निकायमा यार्सागुम्बा सङ्कलन अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन बैठकले निर्देशन गरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै संकट व्यवस्थापन केन्द्रको निर्णयलाई आधार मान्दै अर्को सूचना नभएसम्म यार्सागुम्बा सङ्कलन गर्न रोक लगाएको जनाएको छ ।
दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा वैशाख दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु हुने गरेको छ । तर यो पटक वैशाख दोस्रो सातासम्म लकडाउन अवधि रहेका कारण अर्को आदेश नभएसम्मका लागि यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए ।
जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट अनुमति लिएर हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जान्छन् । महामारीका बेला यार्सागुम्बा सङ्कलन खुला गरिँदा यसले झन जोखिम हुन्छ । मौसम पनि शुरु हुनै लागेकाले अहिलेदेखि रोक लगाइएको मेहताले बताए।
यस वर्ष हिउँ पग्लि नसकेका कारण केही ढिला भए पनि मौसम शुरु हुनै लागेकाले उत्तरी भेगका स्थानीय यार्सा टिप्न जाने तयारीमा थिए । यो बेला बजारबाट लेकका लागि चाहिने खाद्य सामग्री, जुत्ता त्रिपाल खरिद गरी उक्कलिने तयारी गरिन्छ ।
जिल्लामा वैशाख दोस्रो सातादेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन हुने गर्छ । व्यासका बासिन्दा दानसिंह कार्की लेकमा यार्सागुम्बा सङ्कलनको समय शुरु हुनै लागेको भन्दै लकडाउनका कारण यो पटक भने समस्या सिर्जना गरेको बताउँछन् ।रासस





























प्रतिक्रिया