काठमाडौं ।
कोरोना भाइरसको संक्रमणले क्षति पु¥याएको नीजि क्षेत्रलाई राहत प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा परेको प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समार्फत निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नीजि क्षेत्रलाई परेको क्षतिको आँकलन गरी राहत प्याकेज ल्याउनु पर्ने बताइन् । ‘सरकारले आफ्नो क्षमता अनुसार राहत प्याकेज ल्याओस’ अध्यक्ष राणाले भनिन् । उनले अहिले हरेकक्षेत्रलाई असर परेको र सो असर सरकारलाई पनि परेको भन्दै सरकारले क्षमता अनुसारको राहत ल्याउन माग गरेकी हुन् । यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्ण रुपमा शिथिल बन्ने अध्यक्ष राणाको भनाइ थियो ।
उद्योग, पर्यटन, उत्पादन लगायतका उद्योगहरुमा कोरोना भाइरसका कारण निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन् । अहिले सरकारले नीजि क्षेत्रलाई खासै राहत नल्याएको उनको भनाइ थियो । अहिले नीजि क्षेत्रलाई कामदारलाई कसरी तलब दिने र ब्याज तिर्ने विषय नीजि क्षेत्रलाई परेको गम्भिर अप्ठ्यारो भएको उनले बताइन् ।
ब्याज तिर्ने समय राष्ट्र बैंकले असारसम्म सारेको स्मरण गर्दै खास गरी रुग्न उद्योगहरु निकै शिथिल भएको अध्यक्ष राणाको भनाइ थियो । यस्ता क्षेत्रहरुलाई कसरी राहत दिन सकिन्छ भनेर सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । सरकारसँग राहत माग्ने मात्रै होइन, कोरोनासँग लड्न नीजि क्षेत्र एक भएर लागेको पनि उनको भनाइ थियो । अहिले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्श लगायत नीजि क्षेत्र मिलेर अगाडी बढेको उनले बताइन् ।
अहिले खाद्यान्न लगायतका अतिआश्यकिय बस्तुको सहज आपूर्ति नीजि क्षेत्रकै कारण भएको अध्यक्ष राणाको भनाइ थियो । हरेक गाउँ गाउँका जनता र शहरका सबै जनतामा खाद्यान्न र औषधीजन्य अति आवश्यकीय सामानहरु नीजि क्षेत्रकै सक्रियतामा सम्भव भएको उनको भनाइ थियो । त्यसका साथै सरकारको कोषमा पनि रकम जम्मा गरेको बताउँदै उनले आफ्नो नोक्सानलाई एकातिर राखेर मुलुकका लागि काम गरिरहेको बताइन् ।
त्यसका साथै कोरोनाका कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेकाले यसलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा पनि सरकार तथा सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरिरहेको उनको भनाइ थियो । मुलुक लकडाउनको अवस्थामा रहेकाले आपूर्तिमा कुनै समस्या नहोस भन्ने उद्देश्यले उद्योग तथा वाणिज्य लगायतका मन्त्रालयसँग छलफल गरी काम गरिरहेको उनले बताइन् ।
त्यसैगरी, उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाइ थियो । त्यस्तै उनले अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्छ भन्ने माग गरेका छन् । यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाइ थियो । राहत दिने काम सरकारले मात्रै होइन, आफनो जिम्मेवारी नीजि क्षेत्रले पनि पूरा गर्नुपर्ने उनले बताए ।
अहिलेको संकटकालिन अवस्थामा नीजि क्षेत्रले आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने र सीएसआरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोच्नु पर्ने उनले बताए । सहज आपूर्तिका लागि उत्पादनसँग सम्बन्धी उद्योगहरु खोल्नु पर्ने अवस्था भएपनि एकातिर कच्चा पदार्थको अभाव अर्कातिर कामदारहरु आउन नमान्ने भएकाले समस्या भएको उनले बताए ।
कामदारको स्वास्थ्यको पूर्ण जिम्मेवारी कम्पनीले लिने भन्दै अति आवश्यकीय उद्योगहरु चलाउने काम भइरहेको उनले बताए । साथै उनले बजारमा खाद्यान्नको तत्काल अभाव नभएको समेत बताए । नाकाबन्दीले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै संकट टार्ने विकल्प पनि नेपालीसँग भएको उनको भनाइ थियो ।
त्यसैगरी, संकटको यस घडीमा आफूहरु पनि सरकारसँग हातेमालो गर्दै राहतका काममा जुटेको अध्यक्ष मोरले बताए । अहिले १०/१२ केजीका खाद्यान्नका प्याकेट बनाएर परिसंघले सातै प्रदेशमा पठाएको र सरकारलाई पनि ७५ हजार मास्क तथा पिपिए वितरण गरेको छ । नेपालका उद्योग क्षेत्रमा कत्तिको असर गरेको छ भन्ने विस्तृत अध्ययन सुरु गरेको उनको भनाइ थियो । नीजि क्षेत्रको सहयोग सरकारलाई भएको छैन नि भन्ने प्रश्नको जवाफमा उनले चाहे जस्तो सहयोग गर्न नसकेको स्वीकार गरे । तर सहयोग चाँही गरिरहेको पनि उनले सम्झाए ।
त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनु पर्ने बताए । तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्द्रीत रहनु पर्ने उनको भनाइ थियो । त्यसका लागि आम नेपाली एक भएर लाग्नु पर्ने उपाध्यक्ष मल्लले बताए । खास गरी सरकारले कृषि र औषधीजन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनु पर्ने उनको भनाइ थियो । व्यवसायीहरुले कमाउने धन्दा मात्रै नभई सेवा गर्ने हिसाबले पनि काम गर्नुपर्ने उनले बताए । आर्थिक पाटोको कुरामा कसरी माथि उकास्न सकिन्छ भन्नेमा सरकार र नीजि क्षेत्र मिलेर जानु पर्ने उपाध्यक्ष मल्लको भनाई थियो ।





























प्रतिक्रिया